सेयर बजारमा पहिरो, १०८ अंकले नेप्से घट्दा करिब २ दर्जन कम्पनीको सेयरमा नेगेटिभ सर्किट



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ ।

अधिकांश कम्पनीको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । कारोबारका क्रममा २ घण्टा नबित्दै ५ प्रतिशतले नेप्से परिसूचक घटेपछि ४० मिनेट नकारात्मक सर्किट समेत लागेको छ । यो दिनको कारोबारमा नेप्से परिसूचक १५० अंकसम्मले नेप्से घटेको थियो ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेसँगै त्यसको असर सेयर बजारमा देखिएको हो । नेपाल राष्ट्र बैंकले सेयर बजारमा प्रभावित पार्ने गरी नीतिगत व्यवस्था गरेको भन्दै पुँजीबजारका लगानीकर्ताले बिरोध समेत गरेका छन् ।

कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ अंकमा सीमित भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि १९.७६ अंकले घटेको छ । यो दिन २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १४ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २०६ वटा कम्पनीको सेयर मूल्य घटेको छ साथै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन उपसमूहतर्फ फाइनान्स ८ प्रतिशत, विकास बैंक ७.२१ प्रतिशत, जलविद्युत् ६.५१ प्रतिशत, ट्रेडिङ ६.०५ प्रतिशतले गिरावट देखिएको छ ।

यो दिन करिब २ दर्जन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेका छ ।


क्लिकमान्डु