चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण कार्य सम्पन्न, सञ्चालनको तयारी



काठमाडौं । सरकारले अत्याधुनिक सुख्खा बन्दरगाहको रुपमा निर्माण गरिएको चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ । सरकारले हिमाल सिमेन्ट उद्योग निर्माण गर्ने भनेर अलपत्र परेको जग्गालाई उपयोग गर्ने उद्देश्यका साथ २०७५ साल माघ ३ गते शिलन्यास गरी बन्दरगाहको संरचना कार्य सम्पन्न गरेको हो ।

उक्त अत्याधुनिक बन्दरगाह निर्माणको लागि १ अर्ब ६० करोड रुपैयाँ ठेक्का सम्झौता गरिएको थियो । जसमा बन्दरगाह निर्माणको लागि विश्व बैंकले सहयोग दिएको थियो । निर्माणको जिम्मा आशिष र साक्षी जोइन्ट भेन्चरले पाएकोमा आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी थियो भने साक्षी चिनियाँ कम्पनी रहेको थियो ।

उक्त सम्झौता अनुसार सो बन्दरगाह १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने जनाएको थियो । तर, विभिन्न विरोध र कोभिडले गर्दा १४ महिना पछि धकेलिएर हाल सम्पन्न गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

‘निर्माण शुरू गर्दा स्थानीयवासीको विरोधले ६ महिना काम रोकिएको थियो । त्यस्तै पहिलो चरणको कोरोनाले ६ महिना र दोस्रो चरणको कोरोनाले २ महिना गरी १४ महिना धकेलिएको हो,’ उनले भने ।

उनका अनुसार विभिन्न विरोध र समस्याका बाबजुद समितिले छिटोभन्दा छिटो कार्य सम्पन्न गरेको हो ।

बन्दरगाहको मुख्य संरचनाहरू बनिसकेको छ । २२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्यारेन्टिन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारी साधनको चेकजाँच गर्ने संरचना निर्माण गरिसकेको छ ।

त्यसैगरी कन्टेनर यार्ड र पार्किङ यार्डसहित अन्य कार्य पनि सम्पन्न भएको समतिलिे जनाएको छ । उक्त पार्किङ यार्डमा ५ सय कन्टेर र ५ सय सवारी साधन अट्ने क्षमतामा निर्माण भएको गजुरेलले बताए ।

काठमाडौं ल्याउने मालबाहक गाडीको जाँचपासमा सहज

अहिले सम्पूर्ण काठमाडौं ल्याउने सम्पूर्ण मालबाहक गाडीहरूको जाँचपास विभिन्न नाकामा भएको भन्सार कार्यालयबाट हुँदै आएको छ । जसमा वीरगञ्ज, वीरटनगर, भैरहवा, तातोपानीमा भन्सारसम्बन्धि सम्पूर्ण कार्य सकाएर आउनुपर्ने व्यवस्था छ ।

तर, अत्याधुनिक चोभार बन्दरगाह सञ्चालनमा आएमा काठमाडौंको लागि भित्रिएका मालबाहक गाडीहरू सिधै चोभार सुख्खा बन्दरगाहमा जाँचपास गर्न सक्नेछन् ।

चोभारमा बन्दरगाह तयार भएपछि भारतका विभिन्न नाका र चीनबाट भित्रिएका मालबाहक गाडीहरूको चेकजाँच व्यवसायीले चाहेअनुसारको भन्सारमा गर्न पाउने उनको विश्वास छ । साथै, उक्त बन्दरगाह सञ्चालनमा आएसँगै अन्य भन्सारमा भीडभाड कम हुने र लागत पनि कम लाग्ने उनको दाबी छ ।

‘अहिले कुनै पनि मालबाहक गाडी आउँदा विभिन्न भन्सार कार्यालयमा जाँचपासको कार्य सकाएर मात्रै उपत्यका प्रवेश गर्ने व्यवस्था छ,’ उनले भने, ‘आगामी दिनम काठमाडौंमा प्रवेश गर्ने मालवाहक गाडीले सिधै काठमाडौं गएर भन्सारको कार्य पूरा गर्न सक्ने भएकाले सहज हुनेछ ।’

यसले गर्दा विभिन्न नाकामा कुरेर बस्नुपर्ने बाध्यता घट्ने उनको दाबी छ । साथै काठमाडौं तराईको फास्ट ट्र्याक सञ्चालनमा आए झन छिटो र सहज हुने उनको भनाइ छ ।

समितिले आगामी दिनमा व्यापार घाटा कम गर्नको लागि पनि उक्त बन्दरगाहमार्फत् निर्यातलाई प्राथमितामा राखेर सहज बनाउने जनाएको छ ।

सरकारले निर्माण कार्यसँगै सञ्चालनमा ल्याउनको लागि अपरेशन मोडालिटीको पनि गृहकार्य गरिरहेको बताए । उक्त मोडालिटीको तयार भएपश्चात सरोकारवालाहरूको सहमतिमा सञ्चालनमा ल्याउने समितिले जनाएको छ ।

त्यसैगरी समितिले बन्दरगाहको वरिपरीका क्षेत्रमा १० हजार रुख रोप्ने जनाएको छ । साथै वरिपरी रहेका स्थानहरूमा सामाजिक कार्य गरेको गजुरेलले बताए ।


क्लिकमान्डु