अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा पनि, एक वर्षभित्र आइपीओ जारी गर्ने



काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणिकरण गरी कम्पनीलाई बिहीबार ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
आºनो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।

‘हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणिकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले बताए ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस-५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्येको एक हो ।
गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी शुरु गरिसकेको छ । कम्पनीले एक वर्षभित्र आइपीओ जारी गर्ने समेत जानकारी दिएको छ ।

२०७५ सालदेखि आफ्नो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पुर्याएको कम्पनीले पूर्ण उत्पादन क्षमतामा सञ्चालित रही तीव्र प्रतिष्पर्धा र लकडाउनको बाबजुद पनि आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ ।

‘सर्वसाधारणका लागि सेयर खुलाउने विषयमा तयारी अघि बढाइसकेका छौं,’ कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले भने, ‘अर्को आर्थिक वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्ने गरी अघि बढेका छौं ।’


क्लिकमान्डु