आयकर कट्टी झन्झटिलो भएपछि विभागले भन्यो- इटीडीएस भेरिफाइ गर्नु



काठमाडौं । आयकर ऐन २०५८ अनुसार करदाताले बुझाउनुपर्ने आयकरमा कट्टी गर्नुपर्ने रकमको भुक्तानीमा समस्या देखिएपछि आन्तरिक राजस्व विभागले करदाता स्वयमलाई अनलाइनबाट आयकर कट्टी (ईटीडीएस) गरेको पुष्टि (भेरिफाई) गर्न भनेको छ ।

आयकर ऐनको परिच्छेद १७ बमोजिम नेपालमा स्रोत भएका रोजगारीबाट प्राप्त आय, ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवाशुल्क, कमिसन, अवकास भुक्तानी लगायत अन्य प्रतिफल वा रकम भुक्तानी गर्दा कूल भुक्तानी रकमको १५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्छ ।

त्यस्तै, अवकाश कोष तथा संचयकोष उपदानमा ६ प्रतिशतका दरले मात्र कर कट्टी गरिन्छ भने नेपालमा स्रोत भएको लाभांश, लगानी बिमाबाट प्राप्त लाभ वा स्वीकृती नलिएको अवकाश कोषबाट प्राप्त लाभ भुक्तानी गर्दा कूल भुक्तानी रकमको १० प्रतिशतका दरले कर कट्टी गर्नुपर्छ ।

यी विभिन्न शीर्षकमा करदाताको कर कट्टी गरिसकेपछि विद्युतीय माध्यामबाट इ–टीडीएस रिटर्न पेश गरी भेरिफाइ गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर कतिपय सरकारी निकाय, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, निजी क्षेत्रका संघसंस्थाले तोकिए बमोजिम कर कट्टी गरेको तर तोकिएको ढाँचामा इटीडीएस रिटर्न पेश गरी भेरिफाइ नगरेको विभागले जनाएको छ ।

त्यस्तै, कतिपय निकाय वा संस्थाहरुले करकट्टी गरेको विवरण पेश गरेतापनि इटीडीएस रिटर्नमा सम्बन्धित करदाताको स्थायी लेखा नम्बर उल्लेख नगरी विवरण पेश गरेकोले समस्या सृजना भएको पनि विभागले जनाएको छ । यहिकारण सम्बन्धित करदाताले आय-व्यय विवरण पेश गर्दा उक्त टीडीएस रकम दावी गर्न नसकेको भन्ने गुनासोसमेत विभागमा आउने गरेका छन् ।

यी शीर्षकहरुमा भुक्तानी गर्दा स्रोतमा कट्टी गरी दाखिला गरिएको करको विवरण, भुक्तानी गरिएको अवधि, राजस्व शीर्षक नम्बर, सम्बन्धित करदाताको स्थायी लेखा नम्बरआदि विवरणहरु समावेश गरी तोकिएको ढाँचामा इटीडीएस पेश गरी भेरिफाइ गर्न विभागले करदातासँग आग्रह गरेको हो ।


क्लिकमान्डु