पर्यटन पुनरुत्थानका लागि विशेष आर्थिक योजना ल्याउन हानको माग



काठमाडौं । होटल संघ नेपाल (हान)ले पर्यटन पुनरुत्थानका लागि विशेष आर्थिक योजना ल्याउन अर्थमन्त्री समक्ष माग गरेको छ ।

हानका प्रतिनिधिले अर्थमन्त्री जनार्दन शर्मासँग भेटमा हानकि अध्यक्ष सिर्र्जना राणाले होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न माग गरिन् ।

अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको भन्दै ध्यानाकर्षण गराएकी थिइन ।

उनले होटल उद्योगमा खर्बौ रुपैयाँको लगानी रही बढीभन्दा बढी रोजगारी उपलब्ध गराउने र राज्यको कानूनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको हुँदा आर्थिक वर्ष २०७८÷७९ को बजेटले सम्बोधन गरेका विषयहरु साथै मौद्रिक नीतिले सम्बोधन गरेका तपसिल बमोजिमका विषयहरु यथाशिघ्र कार्यान्वयनका लागि आग्रह गरेकी थिइन् ।

पर्यटन पुनरुत्थानका लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने पनि अध्यक्ष राणाको भनाइ छ ।

भेटमा अर्थमन्त्री शर्माले कोभिडबाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस्ता छन् हानका माग

–होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने गरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखी कार्यान्वयन गर्नुपर्ने ।

–होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउनुपर्ने ।

–होटल उद्योगलाई उपलब्ध गराएको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाई भएकोले अविलम्ब कार्यान्वयन गर्नुपर्ने ।

सामाजिक सुरक्षा कोष सम्बन्धमाः
सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकोले यसलाई कम्तीमा १ वर्षसम्म निरन्तरता दिनुपर्ने । साथै, यस समयमा होटलहरुको तर्फबाट निरन्तरता हुन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावलीमा संशोधन गरी कोभिड महामारीको समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारणले स्वास्थ्य लगायतका आपतकालीन सेवा लिनबाट बञ्चित नहुने गरी व्यवस्था गरिदिनुपर्ने ।

आ.व. २०७८/७९ को मौद्रिक नीति सम्बन्धमाः
– मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमहरुको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरु होटल तथा पर्यटन उद्योगमा सहज र सरल रुपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने ।
– होटल क्षेत्रको लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर ५ वर्षको लागि लागू गरिनुपर्ने ।
– यो समयमा अधिकांश होटलहरु पुनःनिर्माणको क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीहरुमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्ने ।


क्लिकमान्डु