सेजन अध्यक्षका कुन उम्मेद्वारका एजेण्डा के ?



काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अध्यक्षका प्रत्यासीसँग आर्थिक पत्रकारिताका विषयमा छलफल भएको होे ।

सेजनको यहीे भदौ १८ गते हुने निर्वाचनमा अध्यक्षमा आशीष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुंगानाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

छलफल कार्यक्रममा बोल्ने अध्यक्षका उम्मेदवारहरुले आर्थिक पत्रकारिताका क्षेत्रमा सशक्त भएर लाग्ने प्रतिवद्धता जनाए । आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्ने र अर्थतन्त्रका विविध विषयमा बहस चलाउने बताएका थिए ।

अध्यक्षका उम्मेदवार आशीष ज्ञवालीले सञ्चारमाध्यममा नवप्रवेशी पत्रकारको अभाव भएको भन्दै आर्थिक पत्रकार जन्माउनेमा सेजनले ध्यान दिने बताए । आर्थिक पत्रकारितामा नयाँ कुरा आएकाले सेजनले आर्थिक पक्षका विविध क्षेत्रमा नवप्रवेशी पत्रकारलाई तालिम दिइने बताए ।

सेजनका अध्यक्षका उम्मेद्वार जनार्दन बरालले साझा धारणा बनाएर अघि बढ्ने बताए । रिपोर्टिङ तथा डेक्समा म्यानपावर अभाव भएको भन्दै तालिम तथा सीप दिएर इन्टर्नसीपमा पठाउन सकिने बताए । आचारसंहिता कार्यान्वयन गर्न भूमिका खेल्ने उनले बताए । आर्थिक तथा पत्रकारिताका विद्यार्थीलाई पत्रकारितातर्फ आकर्षित गर्न विश्वविद्यालयसँग सहकार्य गरिने उनले बताए ।

अध्यक्षका उम्मेदवार शिरोमणि ढुंगानाले पारदर्शिता र उत्तरदायित्वमा भूमिका खेल्ने बताए । संस्था बलियो र प्रभावकारी बनाउन ध्यान दिइने बताए ।

‘अवसरमा विविधता छ, गुणात्मक काममा ध्यान दिनुपर्छ,’ उनले भने ।


क्लिकमान्डु