शिवम् सिमेन्टले भन्यो- टीओडी मिटरको विवरण देखाऊ, महशुल तिर्न तयार छौं



काठमाडौं । घोराही सिमेन्टले नेपाल विद्युत् प्राधिकरणले ज्यादती गरेको भन्दै सार्वजनिक सूचना जारी गरेको केही समयपछि शिवम् सिमेन्ट उद्योगले बुधबार फेरि सोही आशयको सूचना प्रकाशित गरेको छ ।

प्राधिरकणले शिवम् सिमेन्टलाई २ अर्ब बढीको बिल पठाउँदै तत्काल महशुल बुझाउन पटक–पटक पत्राचार गरेको छ । प्राधिकरणको हेटौडा वितरण केन्द्रले विभिन्न मितिमा पत्राचार गर्दै वक्यौता महशुल बुझाउन भनेको छ । अन्यथा, उद्योगको लाइन काटने भन्दै प्राधिकरणले धम्कीयुक्त पत्र पठाएको शिवम् सिमेन्टले जनाएको छ ।

सिमेन्ट उद्योगलाई सरकारले प्राथमिकता प्राप्त उद्योगमा राखेको र राष्ट्रिय प्राथमिकता प्रदान गरेको छ । सडक र प्रसारण लाइन सरकार आफैले निर्माण गर्ने समेत उल्लेख छ । उद्योगले आफूहरुले लोडसेडिङको समयमा दैनिक १६ घण्टासम्म लोडसेडिङ भोगेको जनाएको छ ।

नियमित बिजुली नपाएका कारण उद्योगले डिजेल प्लान्ट चलाउनुपरेको जनाएको छ । समयमै बिजुलीको महशुल तिरेको भन्दै प्राधिकरणले उद्योगलाई छुट समेत दिएको छ । शिवम् सिमेन्ट लिमिटेडमा ५४ हजार बढी सर्वसाधारण नेपालीको सेयर रहेको छ ।

तत्कालीन महशुल निर्धारण आयोगको २०७२ पुस २९ गतेको १०३औं बैठकले लोडसेडिङको समयमा बिना लोडसेडिङ २४सै घण्टा निरन्तर बिजुली पाएको उद्योगले मात्रै डेडिकेटेड र टं«क लाइनको महशुल तिर्नुपर्ने व्यवस्था गरेको थियो । २०७५ वैशाख ३१ गतेदेखि लोडसेडिङ अन्त्य भएको भए पनि प्राधिकरणले २०७५ असार मसान्तसम्मको छुट बिल भन्दै महशुल तिर्न भन्दै ताकेता गरेको छ ।

उद्योगले टिओडी मिटरेको तथ्यांक उपलब्ध गराएर वस्तुसंगत तरिकाले महशुल दावी गरेको खण्डमा तिर्न तयार रहेको समेत जनाएको छ ।

कम्पनीले पटक–पटक टीओडी मिटरको विवरण उपलब्ध गराउन भनेको भएपनि बदनियतपूर्वक इन्कार गरिएको बताएको छ । उद्योगको व्यवसायीक ख्याती र प्रतिष्ठा समेतलाई नकारात्मक असर पुर्याउने उद्देश्यका साथ गलत प्रचार भएको उद्योगले जनाएको छ । महशुल निर्धारण आयोगको निर्णयको शर्त विपरितको महशुल लगाई तिर्न बुझाउन भनी जारी गरिएको प्राधिकरणको पत्र नै अवैध भएको उद्योगको जिकिर छ ।

साथै अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्न खोजेको भन्दै उद्योगले आपत्ति जनाएको छ ।

कम्पनीले तिर्न तथा बुझाउन बाँकी कुनै पनि महशुल समेत नरहेको सूचनामा उल्लेख छ । उद्योगले बिना अवरोध २४सै घण्टा बिजुली उपलब्ध गराउन गरेको पत्राचार, टीओडी मिटरको तथ्यांक तथा हरेक दिनको विवरण उपलब्ध गराएको अवस्थामा महशुल तिर्न तयार रहेको उद्योगले जनाएको छ ।


क्लिकमान्डु