काठमाडौं महानगरले भन्यो- सडकमा थुप्रिएको फोहोर बुधबारबाट उठ्छ



काठमाडौं । बुधबारदेखि काठमाडौंको फोहोर संकलन कार्य नियमित हुने भएको छ । भोलि बिहान ६ बजेदेखि काठमाडौं महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको हो ।

मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काडमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।

सिसडोल ल्याण्डफिल साइटमा जानका लागि सडक भत्किएका कारण त्यहाँ फोहोर लैजान कठिनाइ भइरहेको महानगरपालिकाले जनाएको छ । त्यही अवस्थामा ककनी गाउँपालिका वडा १ की एकजना ७० बर्षिया वृद्धाको भदौ ६ गते मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् ।

हैजा महामारीको यकीन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिसा र ४ वटा परिवारले पिउने पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ ।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौं,’ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘हामीले समाधान गर्न नसक्ने समस्या भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौैँ । तर, लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुँदैन । स्थानीय जीवन र वातावरणलाई असर नपार्ने गरी भोलिदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम नियमित हुनेछ ।’

अघि पनि स्थानीयले उठाएका जायज माग पूरा गरेको र अहिले पनि जायज माग पूरा गराउन महानगर प्रतिवद्ध रहेको शाक्यले बताए ।

‘सिसडोलमा फोहोर व्यवस्थापनकोे काम ०६२ सालदेखि हुँदै आएको छ । ल्याण्डफिल साइटमा पूर्वाधार बनाउने जिम्मेवारी हामीसँग छैन ।

हामी फोहोर संकलन गर्छौं । ढुवानी गर्छौं र सरकारले दिएको साइटमा लगेर अन्तिम व्यवस्थापन गछौं,’ शाक्यले भने, ‘सबैले आफ्ना-आफ्ना जिम्मेवारी पूरा गरे मात्र फोहोर व्यवस्थापन नियमित हुन्छ । यसका लागि स्थानीयबासी, व्यवस्थापनमा जिम्मेवार सम्बद्ध कार्यालयदेखि प्रधानमन्त्रीसम्म पनि हामीले अवस्थाका विषयमा जानकारी गराएर समन्वयको प्रयास गरिरहेका छौं ।’


क्लिकमान्डु