ऊर्जामन्त्री भुसालसँग जर्मनीका राजदूतको शिष्टाचार भेट



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटघाटमा मन्त्री भुसाल र रुसेकबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको हो ।

सो अवसरमा कार्यवाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताए । नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

चिलिमे–त्रिशुली र लेखनाथ–दमौली २२० केभी प्रशारण लाइन निर्माणमा आफ्नो सरकारको आर्थिक सहयोग रहेको जानकारी गराउँदै राजदूत रुसेकले ती आयोजनाको प्रगतिबारे जिज्ञासा राखेका थिए । त्यसैगरी, संसद्मा पेश भएको विद्युत् विद्येयकबारे पनि कार्यबाहक राजदूत रुसेकले चासो देखाएका छन् ।

जवाफमा मन्त्री भुसालले नेपाल–जर्मनीबीच रहिआएको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै वैकल्पिक ऊर्जा एवं प्रशारण लाइन निर्माणमा जर्मनीले उपलब्ध गराउँदै आएको सहयोग सह्रानिय रहेको बताइन् ।

भुसालले जर्मनीबाट प्राप्त आर्थिक एवं प्राविधिक सहयोगलाई सही तवरले उपयोग गरिने विश्वास दिलाउँदै नेपालले राखेका लक्ष्य प्राप्तिका लागि जर्मनीबाट सहयोग रहने अपेक्षा रहेको बताइन् ।

भूकम्पपछिको पुनःनिर्माण एवं कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जर्मनीले पु¥याएको सहयोगप्रति पनि मन्त्री भुसालले राजदूत रुसेकलाई धन्यवाद दिइन् ।


क्लिकमान्डु