काँकरभिट्टामा ३५ अर्ब व्यापार घाटा



झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।

गत आर्थिक वर्षमा ३५ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ३५ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार यो नाकाबाट गत आवमा रू ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आवमा आयात-निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।

आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा रू ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत रू ४ अर्ब बढेको छ । काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए।


क्लिकमान्डु