इजरायल रोजगारीको परीक्षा भदौ २८ गते हुने



काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारीको परीक्षा भदौ २८ गते हुने भएको छ ।
वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको परीक्षा लागि आज सुचना जारी गर्दै भदौ २८ गते गर्ने तयारी गरेको हो ।

सार्वजनिक सूचना अनुसार आवेदन दिई दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको भौतिक उपस्थितिमा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरुमा २८ गते १ बजे अंग्रेजी भाषाको लिखित परीक्षा सञ्चालन हुनेछ ।

विभागले परीक्षार्थीहरूको परीक्षा केन्द्र अनलाइनमार्फत् प्राप्त हुने प्रवेश पत्रमा उल्लेख गरिनुका साथै विभागको वेवसाइटमा समेत सो सम्बन्धी विवरण प्रकाशन गरेको छ ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल रोजगारीको परीक्षा लोकसेवा आयोगको विधि अपनाउने जनाएको छ । सोहीअनुसार विभागले स्वास्थ्य मापदण्डसहित पालना गरेर परीक्षा सञ्चालन गर्ने भएको छ ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने भएको छ । उक्त रोजगारीको लागि इजरायल सरकारले अङ्ग्रजी भाषालाई प्राथमिकता दिएको छ ।

त्यसमा अङ्ग्रजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० तोकेको छ भने ४० ल्याए उतीर्ण हुन सक्ने जनाएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताको लागि २० अङ्क छुट्टाइएको छ ।

विभागले यसअघि नै रोजगारी जाने इच्छुक नेपालीहरूलाई आवेदनको खुलाएको छ । उक्त आवेदन खुलाएकोमा ९ हजार ६सय ९९ जनाले आवेदन दिएका छन् । त्यसमध्ये आवेदन दिनेमा ५ हजार ४ सय ९९ जना पुरुष छन् भने ४ हजार २ सय महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर १ हजार श्रमिक लैजाने भएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सरकारले जनाएको छ ।


क्लिकमान्डु