एक महिनामै डेढ खर्बको आयात, दोब्बरले बढ्यो निर्यात



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमै नेपालले डेढ खर्ब बढीको आयात गरेको छ । गत साउन महिनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, गत वर्षको सोही अवधिमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । गत वर्षको सो अवधिको तुलनामा चालु आवमा ७५.६६ प्रतिशतले आयात बढेको छ ।

त्यस्तै चालु आवमा निर्यात दोब्बरले बढेको छ । आव २०७७/७८ को पहिलो महिनामा नेपालबाट ९ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । चालु आवको सोही महिनामा नेपालले २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको तुलनामा चालु आवको एक महिनामा शत प्रतिशत निर्यात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा निर्यात ११५.८५ प्रशिशतले बढेको छ । नेपालले साउनमा मात्रै १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । साही अवधिमा गत वर्ष नेपालले ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । उक्त व्यापारघाटामा गत वर्षको तुलनामा ७०.५९ प्रतिशतले बढी भएको देखिन्छ ।

नेपालले चालु आवको पहिलो महिनामै १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख रुपैयाँको व्यापार गरेको छ । जुन हालसम्मकै उच्च हो । साथै भन्सार विभागको तथ्याङ्कले आयात/निर्यातको अनुपात १८.६२ प्रतिशतले कमी रहेको छ ।


क्लिकमान्डु