कर्मचारी संचय कोषका प्रमुख प्रशासक तुलसी गौतम बर्खास्त, हिमालयन बैंकको अध्यक्षको पनि पद जाने



काठमाडौं । कानून विपरित कर्मचारी संचय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई सरकारले बर्खास्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो ।

गौतम २०७६ साल जेठदेखि नै कर्मचारी संचय कोषको प्रमुख प्रशासक बन्न अयोग्य थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले कानून विपरित गौतमलाई कोषको प्रमुख प्रशासकमा निरन्तरता दिएका थिए ।

सरकार परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रशासक गौतमलाई कानून विपतिर पदमा बसेको भन्दै राजीनामा गर्न भनेका थिए । तर,उनले राजीनामा दिएका थिएनन् ।

कर्मचारी संचय कोषको प्रशासक बन्नको लागि कोषको सञ्चयकर्ता हुनु आवश्यक छ । तर,गौतमले निजामति कर्मचारीबाट अवकास पाएपनि जबरजस्ती पदमा बसेका थिए ।

गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष हुन् । हिमालयन बैंकमा कोषबाट संचालक समितिमा प्रतिनिधित्व गरेका गौतम बैंकको अध्यक्ष बनेका थिए । कोषको प्रमुख प्रशासक पदबाट हटेसँगै उनको हिमालयन बैंकको अध्यक्ष पदपनि जाने छ ।


क्लिकमान्डु