कोरोनाले नरोकिएका मिनबहादुर, ३ अर्ब लगानी इटहरीमा भदौदेखि भाटभटेनी डिपार्टमेन्ट स्टोर खुल्ने



काठमाडौं । २०७६ सालको अन्तिमतिरमा सुरु भएका कोरोना भाइरस र लकडाउनका विभिन्न भ्येरियन्टहरु अझै छन् । कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर सुरु भएको लकडाउनले अर्थव्यवस्था निकै नै समस्यामा छ । विकसितदेखि उदयमान आर्थिक देशहरुको अवस्था समेत कमजोर छ । व्यवसायिक गतिविधि ठप्प हुँदा नयाँ परियोजनापनि रोकिएका छन् ।

नेपाली उपभोक्तालाई डिपार्टमेन्ट कल्चरको सुरुवात गर्ने मिनबहादुर गुरुङ भने कोरोना भाइरस भएपनि लकडाउन भएपनि आफ्नो सपना पुरा गर्न अगाडि बढीरहेका छन् । कोरोना भाइरस नियन्त्रण गर्नको लागि लागु गरिएको लकडाउनले उनको सोचेको व्यवसायिक यात्रालाई केही समय पछाडि धकेलेपनि त्यसलाई पुरा गर्न गुरुङ लागिरहेका छन् । २०४१ सालमा काठमाडौंको भाटभटेनी मन्दिर अगाडि सुरुको भाटभटेनी डिपार्टमेन्ट स्टोरको सफलताले मन्दिरको परिचयन नै ओझेलमा पारिदियो ।

गुरुङले सुरु गरेको भाटभटेनी अहिले डिपार्टमेन्ट स्टोरहरुमा सफल ब्राण्ड मानिन्छ । विभिन्न खालका विवादहरुमा उनको नाम आएपछि देशभर डिपार्टमेन्ट स्टोर पुर्याउने उनको योजना भने अगाडि बढेको छ ।

भदौको दोस्रोसातादेखि पूर्वी नेपालको उदयमान सहर इटहरीमा भाटभटेनी डिपार्टमेन्ट स्टोरको नयाँ आउटलेट खुल्दैछ । इटहरीमा १ बिगाह १५ कट्ठा जमिनमा फैलिएको स्टोर खोल्नको लागि जग्गा सहित गर्दा करिब ३ अर्ब लगानी भएको गुरुङ बताउँछन् । ‘लकडाउनको कारण लागत बढ्यो भने तोकिएको समयमा संचालनमा ल्याउनपनि सकिएन,’उनले क्लिकमाण्डूसँग भने ।

इटहरीमा भाटभटेनी डिपार्टमेन्ट स्टोर भदौको दोस्रो साताभित्र संचालनमा ल्याउनको लागि गुरुङ तीन महिनादेखि इटहरीमा नै छन् । इटहरीपछि भाटभटेनी डिपार्टमेन्ट स्टोरले बागमति प्रदेशको हेटैडामा डिपार्टमेन्ट स्टोर खोल्ने छ । भदौको दोस्रो सातादेखि इटहरीको स्टोर संचालनमा आएपछि भाटभटेनी स्टोरको संख्या १९ पुग्ने छ ।

कोभिडको समयमा ३ परियोजनाको उद्घाटन

मिनबहादुर गुरुङले काठमाडौं उपत्यकाको २ स्थान र सुदुरपश्चिम प्रदेशको धनगढीमा डिपार्टमेन्ट स्टोर खोल्नको भूमि पुजन गरेका थिए । काठमाडौं उपत्यकाको काठ क्षेत्र भनेर चिनिने ललितपुरको सानागाउँ र काठमाडौंको टोखामा भाटभटेनी डिपार्टमेन्ट स्टोर खुल्ने छ ।

यसबाहेक धनगढीमा समेत ढिलोमा डेढवर्षभित्रमा भाटभटेनी डिपार्टमेन्ट स्टोर खुल्ने छ । भाटभटेनीले डेढवर्षभित्रमा २ हजारभन्दा बढीलाई थप रोजगारी सिर्जना गर्ने छ । इटहरीमा तीनसातापछि संचालनमा आउन लागेको डिपार्टमेन्ट स्टोरले मात्र ५ सयभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने छ ।

५० अर्बको कारोबारपछि पब्लिकलाई सेयर
भाटभटेनी स्टोरले अहिले वर्षभरमा गरेर २० अर्ब हाराहारीमा कारोबार गर्छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका संस्थापक मिनबहादुर गुरुङ ५ वर्षपछि ५० अर्बको कारोबार पुर्याएपछि पब्लिकलाई सेयर जारी गर्ने बताउँछन् ।


क्लिकमान्डु