प्रोभिजनको नयाँ व्यवस्थाले बीमितले पाउने बोनस घट्दै, कुन कम्पनीको कतिले घट्छ ?



काठमाडौं । बीमा समितिको नयाँ निर्देशनले बीमितले पाउने बोनस घट्ने भएको छ ।

समितिको निर्देशनपछि बीमा कम्पनीले भविष्यमा दिने बोसनमा अहिले नै प्रोभिजन गर्नुपर्ने व्यवस्था भएपछि बीमितले तत्काल पाउने बोनस घट्ने भएको हो ।

जीवन बीमा अवधि समाप्तिमा वा कुनै कारणबस बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमितले पाउने बीमांकमा थप गरी दिइने रकमलाई बोनस भनिन्छ ।

समितिको निर्देशन अनुसार कम्पनीहरुले बिक्री गरेको बीमालेखमा तोकिएको अवधिमा पाउने बोनसमा प्रोभिजन गर्नुपर्छ । बीमालेख अनुसार भविष्यमा पाइने बोनसमा गरिने प्रोभिजन बिमांकीय मूल्यांकनका आधारमा फरक पर्न जान्छ ।

मानौः कुनै बीमा कम्पनीले १५ लाख रुपैयाँको १५ वर्षे बीमालेख बिक्री गरेको छ र त्यो बीमालेखको बीमितले वार्षिक प्रिमियम १ लाख रुपैयाँ बुझाउँछ भने त्यसमा बिमांकीय मूल्यांकनले गरेको भविष्यको बोनसमा कम्पनीहरुले प्रोभिजन गर्नुपर्ने हुन्छ ।

कम्पनीहरुले बचतको ९० प्रतिशत बीमा बीमालेख कोषमा जम्मा गर्नुपर्छ भने १० प्रतिशतमात्र लगानीकर्ताबाट मात्रै लगानीकर्ताले लाभांश पाउँछन् ।

भविष्यमा दिइने बोनसमा कम्पनीहरुले गर्ने प्रोभिजन भने कुल बचतबाट गरेपछि बाँकी बीमा कोषमा र लगानीकर्ताका लागि छुट्याउनु पर्ने हुन्छ ।

समितिले भविष्यको बीमामा बोनस प्रोभिजन शतप्रतिशत बनाउन जीवन बीमा कम्पनीलाई निर्देशन दिएको थियो । जुन गत आवको वित्तीय विवरण प्रकाशित गर्दा तोकिएको प्रोभिजन गरेर प्रकाशित गर्नुपर्ने समितिको निर्देशन छ ।

तर, कम्पनीहरुलाई एकैपटक शतप्रतिशत प्रोभिजन गर्न समस्या हुने भएपछि समितिले प्रोभिजनको व्यवस्थालाई पञ्चवर्ष लक्ष्यमा परिणत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘कम्पनीहरुले एकैपटकमा शतप्रतिशत नै प्रोभिजन गर्न समस्या हुने भनेपछि त्यसलाई प्रत्येक वर्ष २० प्रतिशत गरी ५ वर्षमा शतप्रतिशत गर्नु भनेका छौं,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘केही कम्पनीहरुले यसअघिनै तोकिएकोभन्दा पनि बढी प्रोभिजन गरेका छन् भने केही कम्पनीले गरेका छैनन् । प्रोभिजन नगर्ने कम्पनीहरुको बोनस भने अहिले घट्न सक्छ ।’

बीमितको बोनस दर भविष्यमा नघटोस् भनेर प्रोभिजनको व्यवस्था गरिएको उनको भनाइ छ । तर, प्रोभिजन गरिएको पैसा राइट ब्याक हुँदा कम्पनी दरिलो हुने भएकाले भविष्यमा कम्पनीहरुलाई फाइदा नै पुग्ने उनको दावी छ ।

‘नाफाबाट लाभांश वितरण भएमा बीमितले पाउने बोनसदरमा घटबढ हुन सक्छ,’ उनले थपे, ‘अहिले नै प्रोभिजन गर्यो भने रिर्जभमा बस्छ र कम्पनी घाटामा गए पनि बीमितलाई त्यहाँबाट कम्पनीहरुले बोनस दिन सक्छन् ।’

सो व्यवस्थाले केही पुराना कम्पनीहरुको लगानीकर्ताको लाभांश तथा बीमितको बोनसमा तत्कालमा केही घट्न सक्ने उनको भनाइ छ ।

हरेक वर्ष २० प्रतिशत प्रोभिजन गर्दै ५ वर्षमा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । सो अघिसम्म कम्पनीहरुले यस्तो प्रकारका प्रोभिजन कम्पनीले गर्नुपर्ने थिएन । कम्पनी स्वयमले जोखिम मूल्यांकन गरी भविष्यमा दिने बोनसमा प्रोभिजन गर्ने गरेको नेपाल बीमक संघका अध्यक्ष समेत रहेका मेट लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत (सीइओ) निर्मलकाजी श्रेष्ठले बताए ।

‘यसअघि कम्पनीहरुले जोखिम मूल्यांकन हेरेर स्वविवेकले प्रोभिजन गर्दथे, तर अब हरेक वर्ष अनिवार्यरुपमा २० प्रतिशत गर्दै ५ वर्षमा शतप्रतिशत गर्नुपर्ने बाध्यता भयो,’ संघका अध्यक्ष श्रेष्ठले भने, ‘यसले भविष्यका लागि राम्रो हुन्छ तर तत्कालमा भने बोनसमा असर गर्न सक्छ ।’
बोनसमा यसअघि नै प्रोभिजन गरी सकेका कम्पनीहरु बोनसदरमा भने असर नपर्ने उनको भनाइ छ ।

‘यो व्यवस्था भविष्यका लागि राम्रो हो, तर प्रोभिजन नै नगर्ने कम्पनीहरुले अहिले तोकिएको प्रोभिजन बोनसमा गर्दा तत्कालमा दिने बोनस घट्छ,’ उनले थपे, ‘बीमितको बोनसमा मात्र नभएर कम्पनीहरुको रिर्टनसमेत घट्न सक्छ ।’

गत आवको नाफाबाट भविष्यमा दिइने बोनसमा प्रोभिजन गर्दा लगानीकर्ताको रिर्टन र बीमितको बोनस दुबै घट्ने उनको अनुमान छ ।
पछिल्लो पटक बीमा बजारमा आएका अधिकांश नयाँ जीवन बीमा कम्पनीहरुले यस्तो प्रोभिजन गरिसकेको बीमा समितिका एक अधिकारीले बताए ।

तर पुराना कम्पनीहरुले भने भविष्यमा बीमितलाई दिइने बोनसमा प्रोभिजन नगरेका हुँदा ती कम्पनीको लगानीकर्ता र बीमितले पाउने बोनस घट्ने ती अधिकारीको भनाइ छ ।

उनका अनुसार पुराना जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ, एलआइसी, नेशनल लाइफ, एशिएन लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले भविष्यमा बीमितलाई दिने बोनसमा प्रोभिजन गरेका छैनन् ।

यी कम्पनीहरुले गत आवको वित्तीय विवरण प्रकाशित गर्दा तोकिएको प्रोभिजन गरेर मात्र गर्नुपर्ने हुन्छ भने सूर्या लाइफ इन्स्योरेन्सले गत आवको वित्तीय विवरण प्रकाशित गर्दा प्रोभिजन गरेर नै प्रकाशित गरिसकेको छ । अघिल्लो आवसम्म कम्पनीले जीवन बीमा कोषमा ३ अर्ब २३ करोड ३५ लाख रुपैयाँ राखेको थियो । जसमा गत आवको वित्तीय विवरण प्रकाशित गर्दा ४३.५३ प्रतिशतले थप गरी १० अर्ब ६६ करोड १० लाख रुपैयाँ राखेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ मौज्दात थियो ।


क्लिकमान्डु