कोरोना कहरमै पनि बन्दैछन् यी तारे होटल, अर्बौ लगानी



काठमाडौं । कोरोना कहरमा सबै क्षेत्रले नकारात्मक असर भोगेको छ । त्यसमा पनि होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । राहतका लागि ती क्षेत्रले सरकारसँग अनेकन आग्रह गरिरहेका छन् । यो नेपालको मात्रै समस्या होइन । संसारभर नै कोरोनाले पर्यटन तथा होटल क्षेत्रलाई उठ्नै नसक्ने गरी थला पारेको छ ।

महामारी शुरु भए लगत्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएसँगै नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा कमी मात्रै आएन, लकडाउनका कारण देशभित्रै पनि सबै खाले यातायातका साधन बन्द हुँदा आन्तरिक पर्यटनमा पनि ठूलो धक्का पुग्यो ।

यसबीच कतिपय होटल बन्द भए भने कतिपयले होटलको पूर्वाधारमा हुने थप लगानीलाई स्थगित समेत गरेका छन् । होटलमा कार्यरत श्रमिकहरु कामबिहीन भएका छन् भने कतिपय श्रमिकले वैकल्पिक पेशा अंगाल्न समेत बाध्य भइसकेका छन् ।
तर, यही क्षेत्रमा केही व्यवसायीले भने अर्बौ लगानी खन्याइरहेका छन् । महामारीको समयमा समेत अर्बौ लगानी गर्नुको पछाडि आगामी दिन सुरक्षित छ र व्यवसाय फर्काउन सकिन्छ भन्ने ध्येय रहेको छ ।

सन् २०२० को नेपाल भ्रमण वर्षसँगै त्यसपछिका वर्षमा विदेशी पर्यटकको आगमन वृद्धि हुने अपेक्षामा शुरु गरिएका यी होटलमा कोरोना महामारीका कारण ठूलो धक्का पुगेको छ । सोही कारण लागत र समय दुबै बढ्ने निश्चित छ । अबौृ लगानी भइरहेका केही होटलहरु निम्नानुसार छन् ।

१० सेराटन, लैनचौर १० अर्ब लगानी
गैरआवासीय नेपाली नागरिक शेष घलेको लगानी रहेको लैनचौरस्थिर सेराटन होटल निर्माणमा कोरोना महामारीले असर पारेको छ । निर्माणाधीन यस होटलमा घलेले १० अर्ब लगानी गर्ने बताएका थिए । तर कोरोना महामारीका कारण होटलको खर्च मात्रै बढेको छैन यसले लागत समय पनि बढाएको छ । कोरोना महामारीका कारण विदेशी पर्यटक आवगमनमा सुस्तता आएको बेलामा होटल निर्माणमा थप समस्या सिर्जना भएको छ । यद्यपि, होटल निर्माणको काम भने जारी छ ।

२० बुढानिलकण्ठ हेरिटेज होटल, बुढानिलकण्ठ १ अर्ब ५० करोड लगानी
निर्माण शुरु भएको २ वर्षमा पूरा गर्ने र सञ्चालन गर्ने तयारीमा शुरु गरिएको होटल निर्माणको काम यतिबेला कोरोना महामारीको चपेटामा परेको छ । जसका कारण २५ प्रतिशतसम्म लगानी बढेको छ भने १ वर्ष समय लम्बाइएको अध्यक्ष राजेन्द्र केसीले बताए । उनका अनुसार यतिबेला होटल निर्माण अन्तर्गत बाहिरी संरचना निर्माण भइसकेको छ भने इन्टेरियरको काम शुरु भएको छ । तर दुई पटकको लकडाउनका कारण काम नहुँदा निर्माण अवधि पनि लम्बिएको छ ।

३० दुषित थानी होटल, नमोबुद्ध, १ अर्ब ५० करोड लगानी
काभ्रेको नमोबुद्धको डाँडाँमा निर्माण भइरहेको दुसित थानी होटल विदेशी होटलको चेन हो । भारतीयसहित नेपाली लगानीकर्ता समेत रहेको यस होटलमा कुल १ अर्ब ५० करोडभन्दा बढी लगानी भइसकेको छ । कोरोना महामारीका कारण खर्च र समय बढे पनि हाल उक्त होटलमा २५० जना कामदारले निरन्तर काम गरिरहेका छन् । १८ वटा भिल्लासहित निकै आकर्षण डिजाइनमा होटल निर्माणको काम हाल धमाधम अगाडि बढाइएको छ ।

४० हिल्टन होटल, नक्साल ८ अर्ब लगानी
काठमाडौंको नक्सालमा निर्माण भइरहेको हिल्टन होटल पनि कोरोना महामारीका बीचमा उभिँदै गरेको होटल हो । कूल ८ अर्ब रुपैयाँ लगानी रहने होटल शंखर समूहले जगदम्बा हस्पिटालिटी ग्रुप प्रालि अन्तर्गत निर्माण गरिरहेको छ । ८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको हो । सन् २०१६ मा निर्माण शुरु गरी २०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोरोना भाइरसको महामारीका कारण निर्माण समयमै सम्पन्न हुन सकेको छैन । १७५ वटा गेस्ट रुम रहने होटलमा विभिन्न प्रकारका सुविधा उपलब्ध हुने होटल सञ्चालकको भनाइ छ ।

५० बाराही होटल कान्तिपथ, १ अर्ब ३२ करोड लगानी
पोखराका पर्यटन व्यवसायी विप्लव पौडेलको लगानीमा निर्माण भइरहेको राधजानीको कान्तिपथस्थित होटल बाराही कोरोना महामारीका बीच पनि निर्माण जारी छ । तल्ला ३ तलामा सपिङ मल र माथिका ८ तलामा होटल निर्माण गर्ने उद्देश्यले शुरु गरिएको यस होटलमा कोरोनाका कारण खर्च र समय दुबै लम्बिएको छ । पौडेलका अनुसार होटलमा कोरोनाका कारण ३२ प्रतिशत लगानी थपिएको छ । यसअघि होटलको कुल लागत १ अर्ब हुने अनुमान गरिएको थियो ।

६० सेफ्रोन होटल, बुटवल, २ अर्ब लगानी
रुपन्देहीको बुटलमा निर्माण हुन लागेको सेफ्रोन होटल पनि कोरोना महामारीका कारण चपेटामा परेको छ । चुन्नप्रसाद शर्मा, नरिश्वर शर्मा, कमल किशोर मालापानी, भूमिराज पौडेल, श्रवणकुमार बेरिवाल र रेखा मालापानीको लगानी रहने उक्त होटलमा कुल १ अर्ब ५० करोड खर्च हुने अनुमान थियो । कोरोनाका कारण लगानी बढेर २ अर्ब पुग्ने चुन्नप्रसाद शर्माले बताए । कुल ८ हजार ४९६ वर्गमिटर क्षेत्रफलमा फैलिएको होटलमा २ वटा भवन हुनेछन् । ८ तलाको भवनमा ८१ वटा रुम र १३० वटा बेड हुनेछन् । साथै ४ वटा स्वीट रुप हुनेछन् ।

७० मोक्सी होटल नक्साल
२ अर्ब रुपैयाँको लगानीमा काठमाडौंको कमलादीमा निर्माण हुन लागेको मोक्सी होटल सन् २०२५ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कोरोना महामारीकाबीच होटल निर्माणको काम शुरु हुन लागेको छ । काठमाडौंको कमलादीमा रहेको २ रोपनी क्षेत्रफल जग्गामा होटल निर्माण गरिनेछ । मोक्सी स्ट्यालिस बजेट होटलका रुपमा विश्वविख्यात छ । मेरियटका धेरै ब्राण्डमध्ये यो पनि एक हो ।


क्लिकमान्डु