ओली सरकारले ४ वर्षमा थप्यो २५०% ऋण, १७ खर्ब २९ अर्ब तिर्न बाँकी
काठमाडौं । पछिल्लो चार वर्ष अवधिमा नेपालको सार्वजनिक ऋण २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको देशको वर्तमान आर्थिक अवस्था सम्बन्धी जानकारी अनुसार ४ वर्ष अवधिमा केपी ओली नेतृत्वको सरकारले ऋण करिब साढे १० खर्बले बढाएको देखिएको हो ।
आर्थिक वर्ष २०७३÷७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब अर्थात कुल गार्हस्थ्य उत्पादनको २२.७ प्रतिशत रहेको थियो । यस्तो ऋण गत आर्थिक वर्ष २०७७÷७८ मा २५० प्रतिशतले वृद्धि भई १७ खर्ब २९ अर्ब अर्थात कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको छ ।
कुल तिर्न बाँकी ऋणमध्ये ८ खर्ब १ अर्ब आन्तरिक ऋण र ९ खर्ब २८ अर्ब बाह्य ऋण रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक ऋण २ खर्ब २४ अर्ब र वैदेशिक ऋण १ खर्ब ४० अर्ब गरी जम्मा ३ खर्ब ६४ अर्ब रुपैयाँ अर्थात कुल संघीय खर्चको ३०.८ प्रतिशत परिचालन भएको देखिन्छ ।
यसरी सार्वजनिक ऋण उल्लेख्य रुपमा वृद्धि हुँदै गए पनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हासिल हुन नसकेको सरकारले सार्वजनिक गरेको यथार्थपत्रमा उल्लेख छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्ने विवरणअनुसार मंगलबारसम्ममा नेपालको जनसख्ंया ३ करोड ४ लाख २८ हजार बराबर छ । कूल सरकारी ऋणलाई रहेक व्यक्तिलाई भाग लगाउँदा एक जनाको टाउँको करिब ५६ हजार ८२२ रुपैयाँ ऋण रहेको छ ।