बीमा कम्पनीको मार्केटिङ उच्च बोनस दरका बीमालेखमा, बीमितको आकर्षण छैन
काठमाडौं । जीवन बीमा गर्नुअघि बीमितले हेर्ने महत्वपूर्ण विषय भनेको बीमालेखमा प्राप्त हुने बोनसदर हो । बीमितले कुनै पनि बीमालेख खरिद गर्नु अघि उक्त बीमालेखको अवधि, प्रिमियम, सुविधा तथा त्यसमा उपलब्ध गराइएको बोनसदर हेर्ने गर्छन् । अर्थात् मैले यति अवधिको बीमालेख खरिद गर्दा यति प्रिमियम बुझाउनु पर्छ र अन्तिममा मैले यति बोनस पाउँछु भन्ने नै हो ।
तर बीमितहरु भने बीमालेख खरिद गर्दा सबैभन्दा उच्च बोनसदर प्राप्त हुने बीमालेखमा भन्दा छोटो अवधिका र कम बोनसदर भएका बीमालेख मै बढी आकर्षित भएको पाइएको छ ।
बीमा समितिले आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराएको १० वटा बीमा कम्पनीको तथ्यांकअनुसार बीमितहरुले लामो अवधि र बढी बोनसदर भएका बीमा लेखको तुलनामा कम अवधि र बोनसदर भएका बीमा लेखमा बढी आकर्षण भएको देखिएको छ ।
बीमा कम्पनीहरुले सावधिक जीवन बीमालेख अन्तर्गत अवधिका आधारमा बीमालेख जारी गरेका हुन्छन् । जसमा ५ वर्ष, ९ वर्ष, १० वर्ष, १५ वर्ष, २० वर्ष, २५ वा ३० वर्षसम्मका विभिन्न प्रकारका बीमालेख जारी भएका हुन्छन् । जसमा कम अवधिका बीमा लेखमा कम बोनसदर र बढी अवधिका बीमालेखमा बीमितले बढी बोनस पाउने हुन्छ ।
कुन कम्पनीले कति बिक्री गरे ?
नेपाल लाइफ इन्स्योरेन्सले आव २०७५/७६ मा २६ वर्ष वा सोभन्दामाथि बीमा अवधि भएका बीमा लेखमा प्रतिहजार ८२ रुपैयाँ बराबर बोनसदर दिएको थियो । यो बोनसदर अन्य बीमा अवधिमा दिइएको बोनसदरभन्दा बढी हो । सो वर्ष कम्पनीले सावधिक जीवन बीमा अन्तर्गत सबै खाले गरी कुल ५ लाख ६ हजार ८६४ वटा बीमालेख बिक्री गरेको छ । जबकी २६ वर्ष वा सोभन्दामाथि अवधिका बीमालेखको कुल संख्या जम्मा २ हजार १ सय ६७ छ ।
यसैगरी, सूर्या लाइफ इन्स्योरेन्सले पनि आव २०७५/७६ मा ३० वर्ष वा सोभन्दामाथि अवधिमा प्रतिहजार ७३ रुपैयाँ बराबर बोनसदर दिएको थियो । सो वर्ष कम्पनीले सावधिक जीवन बीमा अन्तर्गत सबै खाले गरी कुल ७३ हजार ९६६ वटा बीमा लेख बिक्री गरेको छ । जबकी सबैभन्दा बढी बोनसदर भएका ३० वर्ष वा सोभन्दामाथि अवधिका बीमालेख संख्या जम्मा १ सय ४४ छ ।
साथै, रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आव २०७५/७६ मा २५ वर्ष वा सोभन्दामाथि अवधिमा प्रतिहजार ७० रुपैयाँ बराबर बोनसदर दिएको थियो । जुन अन्य बीमालेखमा दिइएको बोनसदरभन्दा बढी हो । तर २५ वर्ष वा सोभन्दामाथि अवधिका बीमालेख जम्मा १३१ वटा मात्रै बिक्री भएको छ । जबकी कम्पनीको उक्त वर्ष सावधिक जीवन बीमा अन्तर्गत १० हजार ९७२ वटा बीमालेख बिक्री गरेको छ ।
यसैगरी, प्राइम लाइफ इन्स्योरेन्सले पनि आव २०७५/७६ मा २५ वर्ष वा सोभन्दामाथि अवधिमा प्रतिहजार ६५ रुपैयाँ बराबर बोनसदर दिएको थियो । जुन अन्य अवधिका दिइएको बोनसदरभन्दा बढी हो । २५ वर्ष वा सोभन्दामाथि अवधिका बीमालेख जम्मा १ हजार ४९९ वटा बिक्री भएका छन् । जबकी कम्पनीले उक्त वर्षमा सावधिक बीमालेख अन्तर्गत कुल १ लाख १४ हजार ६७९ वटा बीमालेख बिक्री गरेको छ ।
साथै, प्रभु लाइफ इन्स्योरेन्सले पनि आव २०७५/७६ मा २५ वर्ष वा सोभन्दा माथि अवधिमा प्रतिहजार ७० रुपैयाँ बराबर बोनसदर दिएको थियो, जुन अन्य बीमा अवधिमा दिइएको बोनसदरभन्दा बढी हो । उक्त वर्ष कम्पनीले सावधिक जीवन बीमा अन्तर्गत कुल ९ हजार ९१४ वटा बीमा लेख बिक्री गरेको छ भने २५ वर्ष वा सोभन्दामाथि अवधिका बीमालेख संख्या जम्मा ७६ वटा छन् ।
यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले पनि आव २०७५/७६ मा २६ वर्ष वा सोभन्दामाथि अवधिमा प्रतिहजार ८५ रुपैयाँ बराबर बोनसदर दिएको थियो । जुन अन्य बीमा अवधिमा दिइएको बोनसदरभन्दा बढी हो । उक्त वर्ष कुल सावधिक जीवन बीमालेख २ लाख ११ हजार ३५० वटा बिक्री गरेकोमा २६ वर्ष वा सोभन्दामाथि अवधिका बीमालेख जम्मा ३ हजार ७१४ वटा मात्रै बिक्री गर्न सफल भएको छ ।
यता, महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि आव २०७५/७६ मा २६ वर्षदेखि ३० वर्ष अवधिमा प्रतिहजार ५२ रुपैयाँ बोनसदर दिएको थियो । जुन कम्पनीका अन्य अवधिका बीमा लेखको तुलनामा बढी बोनसदर हो । कम्पनीले उक्त वर्ष कुल १ हजार ४५८ वटा बीमा लेख बिक्री गरेकोमा २६ वर्षदेखि ३० वर्ष अवधिका बीमालेख संख्या जम्मा १४ वटा मात्रै बिक्री गर्न सफल भएको थियो ।
यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले पनि आव २०७५/७६ मा २५ वर्ष वा सोभन्दा माथि अवधिमा प्रतिहजार ८० रुपैयाँ बराबर बोनसदर दिएको थियो । यस्तो बीमालेख खरिद गर्नेको संख्या जम्मा ५ हजार ५५० छ । जबकी कम्पनीले सावधिक जीवन बीमा अन्तर्गत कुल ४ लाख ३२ हजार ५६४ वटा बीमालेख बिक्री गरेको थियो ।
साथै, ज्योति लाइफ इन्स्योरेन्सले पनि आव २०७५/७६ मा २५ वर्ष वा सोभन्दामाथि अवधिमा प्रतिहजार ७५ रुपैयाँ बराबर बोनसदर दिएको थियो । जुन अरु बीमा अवधिमा दिइएको बोनसदरभन्दा बढी हो । २५ वर्ष वा सोभन्दामाथि अवधिका बीमालेख संख्या जम्मा ७३ छ । जबकी कम्पनीले उक्त अवधिमा सावधिक बीमा अन्तर्गत १६ हजार ८१ वटा बीमालेख बिक्री गरेको थियो ।
यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्सले पनि आव २०७५/७६ मा ३० वर्ष वा सोभन्दा माथि अवधिका बीमा लेखमा प्रतिहजार ७३ रुपैयाँ बराबर बोनसदर दिएको थियो । जुन अन्य अवधिका बीमा लेखमा दिइएको बोनसदरभन्दा बढी हो । कम्पनीले उक्त वर्ष कुल ९ हजार ८९० वटा सावधिक बीमा लेख बिक्री गरेकोमा ३० वर्ष वा सोभन्दा माथि अवधिका बीमालेख संख्या जम्मा एउटा मात्रै छ ।