९० करोडको लागतमा टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बन्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बनाउने भएको छ । स्मार्ट सवारी पार्किङ निर्माण गर्न महानगरले आज (सोमबार) बोलपत्र आह्वान गरेको छ ।

न्यूरोड क्षेत्रको अनियन्त्रित र अस्तव्यस्थ पार्किङलाई सुधार गर्न टेकुस्थित महानरको आफ्नै जग्गामा सवारी पार्किङ निर्माण प्रक्रिया अघि बढाइएको भौतिक विकास विभागका प्रमुख राम थापाले क्लिकमाण्डूलाई बताए ।

‘व्यवस्थित पार्किङ स्थलको अभावमा न्यूरोड क्षेत्र सवारीसाधनका कारण अस्तव्यस्त देखिएको छ । न्यूरोड क्षेत्रलाई व्यवस्थित गर्न पार्किङ स्थल निर्माण प्रक्रिया अघि बढाइएको हो ।’

पार्किङ स्थाल निर्माण भएपछि न्यूरोडकको सवारी चाप कम हुने उनले विश्वास व्यक्त गरे । पार्किङ स्थलको अभावमा अहिले न्यूरोड क्षेत्रमा सडकमै सवारीसाधन पार्क गर्ने परिपाटी विकास भइरहेको छ । यसले गर्दा पैदल यात्रु असुरक्षित तबरले यात्रा गर्न बाध्य छन् ।

यो पार्किङ स्थलबाट टेकु तथा न्यूरोडमा हुने अवस्थित पार्किङ नियन्त्रित हुने थापाको दावी छ । पार्किङ स्थलबाट काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड १० मिनेटको पैदलदुरीमा छ । पार्किङ स्थाल र न्यूरोडको दुरी नजिकै भएकाले सेवाग्राहीले पार्किङ स्थालबाट लाभ लिन सक्ने थापाको भनाइ छ ।

उनका अनुसार महानगरले निर्माण गर्न लागेको स्मार्ट पार्किङ भवन ६ तलाको हुनेछ । यसमा एकपटकमा ३९० वटा मोटरसाइकल र २६० वटा कार पार्किङ गर्न सकिन्छ । पार्किङ स्थलको सेवा सुविधा छिट्टो र भरपर्दो बनाउनका लागि लिफ्टको पनि प्रयोग गरिनेछ ।

साथै विजुली कटौती भएको समयमा पार्किङमा अवरोध उत्पन्न नहोस् भन्नका लागि र्याम पनि निर्माण गरिन्छ । विजुली उपलब्ध नभएको समयमा र्याममा सवारीसाधन पार्किङ गराइने प्रमुख थापाले बताए ।

काठमाडौं महानगरले निर्माण गर्ने पार्किङ स्थल सशुल्क हुनेछ । तर अहिलेसम्म महानगरले पार्किङ वापत कति शुल्क उठाउने भन्ने निर्णय गरिसकेको छैन । पार्किङ स्थल निर्माण भइ सञ्चालन योग्य भएपछि महानगरले शुल्क तयार गर्ने जानकारी दिएको छ ।

यो पार्किङ भवन निर्माण गर्न करिब ९० करोड रुपैयाँ लाग्ने अनुमान छ । शुरु गरिएको २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने महानगरको योजना छ ।


क्लिकमान्डु