अब अन्तर्राष्ट्रिय बजारमा सुन निर्यात सहज हुने



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साउन १७ गते गेटवे पेमेन्ट नेपालीबीच सम्झौता गरेको छ । उक्त सम्झौता गरेसँगै सुनचाँदी व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली सुन विक्री गर्न सहज हुने भएको छ ।

महासंघले आफ्नो क्षेत्राधिकार रहेको व्यवसायी थप व्यवस्थित र निर्यात सहजताका लागि गत आइतबार महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौतापत्रमा गरेका थिए ।

दुई संस्थावीच भएको यो सम्झौता पश्चात सुनचाँदी व्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणालीमार्फत् लिन सक्नेछन् ।

यसअघि नेपालबाट हस्तकला महासंघमार्फत मात्रै चाँदी निर्यात हुँदै आएको थियो । तर, हालसम्म सुन भने अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन सकेको थिएन । सम्झौतापश्चात अबका दिनमा अन्तर्राष्ट्रिय बजारमा पनि सुन निर्यात गर्न सहज भएको महासंघमा महासचिव धर्मरत्न बज्रचार्यले बताए ।

सरकारले हालसम्म कुनै पनि सुनचाँदी निर्यातका लागि मापदण्ड तोकेको छैन । त्यसैले जति पनि व्यवसायीहरूले रिस्क मोल्दै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएकोमा गेटवे पेमेन्टको सहायताले केही थप सहज भएको उनको भनाइ छ ।

‘कुनै पनि व्यवसायीले गेटवे पेमेन्ट आबद्ध भएपछि उक्त व्यवसायीले आफ्नो सम्पूर्ण गरगहना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा रहेका व्यवसायीले अर्डर गर्न सक्नेछन्,’ उनले भने, ‘गेटवेमार्फत गरगहना प्रस्तुत गर्दा अर्डर पनि अनलाइनमार्फत् नै हुने भएको छ ।’

साथै, अनलाइनमार्फत् नै भुक्तानी गरी सुन निर्यात गर्नेसम्ने उनले बताए ।

हालसम्म कुनै पनि सुन निर्यातको लागि आधिकारिक मापदण्ड बनेको छैन । यसले गर्दा व्यवसायीले एक केजी पनि सुन निर्यात गर्न सकेको छैन । ‘सरकारले नेपालबाट बाहिर सुन निर्यात गर्नुपर्छ भन्ने छ । तर, कुनै पनि व्यवसायीले निर्यात गर्दा कसरी भुक्तानी लिने, डलरलाई कसरी म्यानेज गर्ने भन्ने सरकारी प्रावधान छैन,’ उनले क्लिकमान्डूसँग भने ।

व्यवसायीले यसअघि बैंकमार्फत् यो काम गर्दै आएका थिए । बैंकबाट कारोबार गर्दा निकै रिस्क रहेको उनको बुझाइ छ । त्यसैगरी नेपालका व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा व्यवसाय गर्दा थप व्यवसाय बढ्ने उनले जिकिर गरे । साथै, नेपालसमा बसेर डलर कमाउँदा सरकारलाई पनि फाइदा हुने उनको विश्वास छ ।

त्यस्तै सम्झौता पश्चात अव सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डमार्फत् रकम भुक्तानी गर्न थप सहज हुनेछ । यसले उपभोक्ता र ब्यवसायी दुपै पक्षलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।


क्लिकमान्डु