सेबोन अध्यक्ष ढुंगानाले अर्थ मन्त्रालयलाई पठाएको स्पष्टिकरणमा के छ ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थ मन्त्रालयले सोधेको प्रष्टिकरण पेश गरेका छन् । ढुंगानाले आइतबार मन्त्रालयमा स्पष्टिकरण पेश गरे ।

अध्यक्ष ढुंगानाले कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरु गरी १० जनालाई हस्ताक्षर गर्न लगाएर स्पष्टिकरण मन्त्रालयमा पठाएका छन् ।

‘अध्यक्षज्यूले गरेको बदमासीमा हामी साक्षी बन्नु पर्यो, चरम दवाव दिएर हामीलाई पनि हस्ताक्षर गर्न लगाउनु भयो,’ एक उपकार्यकारी निर्देशकले क्लिकमाण्डूसँग भने, ‘नेतृत्वको खराब आचरणले संस्थाकै बेइज्जत भयो । धितोपत्र बोर्डमा काम गर्छु भन्न पनि लाज लागिसक्यो ।’

ढुंगानाले आफ्नो छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर प्रतिकित्ता २५० रुपैयाँका दरले किनेका थिए । उक्त विषय अहिले हटकेक बनेको छ । सोही विषयमा मन्त्रालयले बुधबार ३ दिनभित्र स्पष्टिकरण बुझाउन पत्राचार गरेको थियो ।

स्पष्टिकरणमा हस्ताक्षर गर्ने उपकार्यकारी निर्देशकहरुले दिएको जानकारीअनुसार ढुंगानाले आफूमाथि झुटो आरोप लगाइएको दावी गरेका छन् ।

सर्वोत्तम सिमेन्ट नेप्सेमा सुचिकृत नभएकोले यस कम्पनी बोर्डको नियमनको क्षेत्राधिकार भित्र नपर्ने, सर्वोत्तम सिमेन्टलाई बोर्डले अनुमति नदिएकोले बोर्डको आचारसंहितामा रहेका प्रावधान आकर्षित नहुने, कर्मचारी सेवा/शर्त नियमावलीले विवाहित छोरीलाई एकाघरको परिवारको मान्यता नदिएको, सर्वोत्तम सिमेन्टले आईपिओ निष्काशनको लागि बोर्डमा आवेदन नदिएकाले बोर्डको नियमनभित्र नपर्ने दाबी गर्दै स्पष्टिकरण पेश गरेका छन् ।

त्यसैगरी, मिडियामा आएका सबै समाचार तथ्यहीन, भ्रमपूर्ण रहेको दावी गर्दै आफूले राम्रो काम गरिरहेको देख्न नसकेर नियोजितरुपमा आफूमाथि आक्रमण भएको ढुंगानाको दावी छ ।


पुष्प दुलाल