यी हुन् नेपालमा उपलब्ध ३० लाखभन्दा सस्ता कार



काठमाडौं । चिटिक्क परेको घर र एउटा कार चढ्ने धेरैको सपना हुन्छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा बिक्री हुने कारको मूल्य ३ गुणासम्म महँगो पर्ने भएकाले धेरै नेपालीको सपना पुरा हुन सकेको छैन ।

नेपालमा बिक्री हुने कारमा सरकारले २५० प्रतिशतसम्म कर लगाउँदै आएको छ । उच्च करका कारण नेपालमा बिक्री हुने कारको मूल्य महँगो छ । विदेशमा सामान्य कमाई हुने मानिस कार चढ्न सक्ने भए पनि नेपालमा भने धनाढ्यले मात्रै कार चढ्छन् भन्दा फरक पर्दैन ।

नेपाली बजारमा केही ब्राण्डसँग ३० लाख रुपैयाँभन्दा सस्तो मूल्यको कार उपलब्ध छ ।

मारुती सुजुकी, टाटा, हुन्डाई, रेनो र ड्याटसन तथा निशानका केही भेरियन्टका कार ३० लाख रुपैयाँभन्दा तल उपलब्ध छ । बिक्रीका हिसाबले यी नेपालका अग्र ब्राण्ड हुन् । नेपालमा १९ लाख रुपैयाँसम्म कार उपलब्ध छ ।

टाटा

नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रद्धि ट्रेडिङ प्रालि रहेको छ । सिप्रद्धिसँग ३० लाख रुपैयाँभन्दा सस्तो मूल्यका ६ वटा कार छन् ।

टियागो रेभोट्रोन एक्सई बीएस- ६को मूल्य २४ लाख ९९ हजार रुपैयाँ र टिगोर आरटी एक्सएम बीएस- ४को मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

मारुती सुजुकी

नेपालका लागि मारुती सुजुकीको आधिकारिक बितरक सीजी मोटोकर्प रहेको छ । सीजी मोटोकर्पसँगै सबैभन्दा ३० लाख रुपैयाँभन्दा सस्तो १३ भेरियन्टका कार छन् ।

मारुती सुजुकी अल्टो ८०० एसटीडीको मूल्य सबैभन्दा सस्तो रहेको छ । अल्टो एसटीडीको मूल्य १९ लाख ९ हजार रुपैयाँ छ । सेलेरियो एक्स जेडआई ओ भेरियन्टको मूल्य २९ लाख २९ हजार रुपैयाँ छ ।

हुन्डाई

हुन्डाई कारको नेपाली आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । लक्ष्मी इन्टरकन्टिनेन्टलसँगै ३० लाख रुपैयाँभन्दा सस्तो ३ वटा हुन्डाईका कार छ ।

सान्ट्रो इराको मूल्य २५ लाख ५६ हजार रुपैयाँ र सान्ट्रो स्पोटजेडको मूल्य २९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

ड्याटसन र निशान

ड्याटसन र निशानको आधिकारिक नेपालको बिक्रेता पायोनियर मोटोकर्प रहेको छ । पायोनियर मोटोकर्पसँग ३० लाख रुपैयाँभन्दा सस्तो मूल्यको ४ वटा कार छ । जसमा ड्याटसनको ३ वटा र निशानको एउटा मोडल छ ।

ड्याटसन रेडिगो टीओ भेरियन्टको मूल्य २४ लाख ४९ हजार रुपैयाँ र निशान म्यागनाईट एक्सई बेसको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

रेनो

रेनो कारको नेपालको लागि आधिकारिक बिक्रेता एडभान्स अटोमोवाइल प्रालि रहेको छ ।

एडभान्स अटोमोवाइलसँग ३० लाख रुपैयाँभन्दा सस्तो मूल्यका ५ वटा कार छ । रेनो क्विड आरएक्सटी ओ एमटीको मूल्य २५ लाख ४९ हजार र रेनो काइगरको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


पुष्प दुलाल