राष्ट्रिय गौरवका आयोजनको बजेट सुनिश्चितता गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा सरकारलाई निर्देशन



काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा शुक्रवार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड ल्याउन निर्देशन दिएको हो ।

समितिले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा बाढी तथा पहिरोले पुर्याएको क्षतिका बारेमा छलफल गरेको थियो । छलफलपछि समितिले आयोजनामा बाढी पहिरोले पुर्याएको क्षतिको मूल्यांकन गरी पुनर्निर्माणलाई अविलम्ब शुरु गर्न निर्देशन दिएको छ । मेलम्ची खानेपाी आयोजनाको बाँकी काम सम्पन्न गर्न समेत बजेटको सुनिश्चितता गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । यस्तै समितिले आयोजनासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायका बीचको प्रभावकारी सहकार्य र समन्वयको लागि निर्देशन दिएको छ ।

‘गौरवको आयोजना बजेट अभाव हुँदैन भनेको छ । फेरि कार्यान्वयनमा जाँदा यो खाले समस्या आएको हुनाले राष्ट्रिय गौरवका आयोजनाहरुको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्डका लागि सरकारलाई निर्देशन दिएका छौं । तत्काल आयोजना भएका क्षतिको पूर्ण मूल्यांकन निकाली निर्माणको पुनर्निर्माणलाई कार्यान्वयनमा जानुपर्ने निष्कर्ष निकालेको छ । समितिकी सभापति दिलकुमारी थापाले भनिन्, ‘आयोजनासँग प्रत्यक्ष सरोकार राख्ने निकायको बीचको प्रभावकारी सहकार्य र समन्वयको अहिले पनि अभाव देखिएको छ । यो आयोजना भित्रको निकायहरु, मन्त्रालय भित्रका निकाय र तहका सरकारको बीचमा अहिले पनि समन्वयको अभाव देखिएको छ । यसलाई प्रभावकारी समन्वयको लागि निर्देशन दिन्छौं ।’

समितिले आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी आयोजनाबीचमा भएको संरचनात्मक समस्यालाई व्यवस्थित गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले शहरी विकास मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, काठमाडौं आयोजना खानेपानी लिमिटेड र काठमाडौं महानगरपालिकाको सरसफाइ तथा विभाग हेर्ने अधिकारीहरुसँग छलफल गरेको थियो ।


क्लिकमान्डु