दैनिक २ रुपैयाँ तिर्न सक्नेले पनि खरिद गर्न सक्ने प्रडक्ट ल्याउन बीमा समिति अध्यक्षको निर्देशन



काठमाडाैं । दैनिक २ रुपैयाँ खर्च गर्न सक्ने व्यक्तिले पनि बीमा पोलिसीका खरिद गर्न सक्ने खालका प्रडक्ट ल्याउन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।

उनले न्यून आय भएका व्यक्तिले समेत खरिद गर्न सक्ने बीमाका प्रडक्ट कम्पनीहरुले ल्याएमा पहुँच बिस्तारमा सहयोग पुग्ने बताए ।

‘आयस्तर अनुसारका बीमाका प्रडक्ट ल्याउनुपर्छ,’ उनले रिलाइन्स लाइफ इन्स्योरेन्सद्वारा आयोजिकत दावी भुक्तानी हस्तान्तरण सम्बन्धी कार्यक्रममा बोल्दै भने, ‘दैनिक २ रुपैयाँ तिर्न सक्नेले समेत खरिद गर्न सक्ने बीमाका प्रडक्ट कम्पनीहरुले ल्याउनस्, सन्तुलित बीमाको पहुँच बिस्तारमा सहयोग हुन्छ ।’

बीमाको इतिहास ५० वर्ष बढीको भएपनि हालसम्म २४ प्रतिशतमा मात्र पहुँच पुग्नु भनेको बीमा सम्बन्धी आम जनमानसमा नकारात्मक धारणाको अझै पनि रहेको बुझिने भन्दै लक्ष्यअनुसार बीमाको बिकास र बिस्तार नभएको उनको भनाइ छ ।

‘विषेश गरी बीमा गराएपछि बीमितले समयमै दावी भुक्तानी नपाउँदा र कम्पनीहरुले अन्डर राइटिङ समयमै नगराउँदा समस्या आएको हो,’ उनले थपे, ‘कम्पनीहरुले एउटै व्यक्तिबाट सबै काम सम्पन्न गराउने, एउटै विभागमा १८ वर्षसम्म एउटै कर्मचारी खटाउने गरेको पाइन्छ, यस्तो प्रवृतिले समस्या निम्त्याउँछ ।’

यसका लागि कम्पनीका व्यवस्थापनले मात्र नभएर सञ्चालक समितिले समेत ध्यान दिनुपर्ने बताए ।

‘सञ्चालक समिति सदस्यहरुले बैठक बस्नका लागि मात्रै नभएर कम्पनीका के भइरहेको छ त्यो पनि हेर्ने गर्नुस्, दैनिक नभएपनि त्रैमासिक रुपमा कम्पनीको वित्तीय तथा सञ्चालनको अवस्था कस्तो छ त्यो हेर्ने गर्नुस्,’ समितिका अध्यक्ष सिलवालले भने, ‘कम्पनीमा भएका समस्याबारे समाधानमा सञ्चालकहरुले पनि ध्यान दिँदा बीमा व्यवसायको गुणस्तरीय विकास र बिस्तारमा सहयोग हुन्छ ।’

कर्मचारीहरुको वृद्धि विकासका लागि कम्पनीहरुले कर्मचारी विनियमावली नबनाएर काम गरेमा वित्तीय सुसाशन बिग्रिने उनको भनाइ छ ।
उनले बीमाको पहुँच बिस्तारका लागि समितिले चालु आर्थिक वर्षभित्रमै १ सय वटा गाँउपालिकामा जाने लक्ष्य रहेको जानकारी दिए । कम्पनीहरु सहर केन्द्रित नभएर ग्रामीण भेगसम्म जान समेत उनले निर्देशन दिएका छन् ।

‘कम्पनीहरु काठमाडौंमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि आवश्यक मात्रामा पुग्नु पर्यो,’ उनले भने ‘ग्रामीण क्षेत्रमा पुगेका शाखामा पनि २÷३ जना कर्मचारहिरु राखेर काम चलाउने मात्र कम्पनीहरुले गरेको देखिन्छ ।’

समितिले समेत टेबलमा बसेर तोक लगाउने काम मात्र नगर्ने भन्दै उनले चालु आवभित्रै १ सय वटा पालिकामा पुगेर त्यहाँको बीमा सम्बन्धी आम सर्वसाधारणको धारणा, बीमा देखिएका समस्याबारे अध्ययन गरी सामाधानको पाटो खोज्नुका साथै बीमाको पहुँच बिस्तारका लागि अन्य विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिए ।


क्लिकमान्डु