डेढ अर्बबढी लगानीमा बुटवलमा पाँचतारे होटल ‘सेफ्रन’ निर्माण हुँदै



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वको पर्यटन क्षेत्र प्रभावित भइरहेका बेलामा नेपालमा पनि यसको असर उत्तिकै छ । विदेशी पर्यटकहरु पछिल्लो डेढ वर्षयता सहज रुपमा नेपाल आउन सकेका छैनन भने महामारीको असर अझै केही समय रहने आँकलनका बीच पर्यटन क्षेत्रमा भइरहेको लगानी रोकिएको अवस्था छ ।

पर्यटन क्षेत्रका लागि प्रतिकुल बनेको अवस्थाका बीच बुटवल उपमहानगरपालिकामा भने पाँच तारे होटल निर्माणको काम धमाधम शुरु गरिएको छ ।

विभिन्न व्यवसायमा संलग्न केही व्यवसायीहरुले १ अर्ब ५० करोडभन्दा बढी लगानीमा पाँचतारे होटल ‘सेफ्रन’ निर्माण गर्न लागेका हुन् । बुटवलको पहिलो पाँचतारे होटलका रुपमा सञ्चालन हुने तयारीका साथ निर्माण कार्य शुरु गरिएको हो ।

२०७५ सालमा कम्पनीका रुपमा दर्ता भइ वातावरणीय प्रभाव मूल्यांकन समेत भइसकेर निर्माण शुरु गर्ने समयमा कोरोना भाइरसको महामारीका कारण निर्माणको काम केही प्रभावित भएको होटलका अध्यक्ष चुन्नप्रसाद शर्माले क्लिकमाण्डूुसँग भने ।

‘होटल निर्माणको काम १८ महिनामा सक्ने गरी शुरुवाती योजना थियो, तर कोरोना महामारीका कारण समय अवधि ६ महिना थपिएर २ वर्ष पुग्ने देखिएको छ,’ उनले भने, ‘यसले समय र लागत दुबै बढाएको छ ।’

नेपाल भित्रिने कुल पर्यटकको ठूलो हिस्सा लुम्बिनी प्रमुख गन्तव्यमध्येको एक हो । त्यसमाथि छिमेकी मुलुक भारतबाट पनि वर्षेनी हजारौं पर्यटकहरु लुम्बिनी भ्रमणका लागि आउँछन् । त्यति मात्रै होइन निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि विदेशी पर्यटकको आगमन बुटवल तथा आसपासका क्षेत्रमा बढी हुने अपेक्षा गरिएको छ ।

हाल भैहरवामा पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा छ । त्यसबाहेक १÷२ वटा तारे होटल पनि निर्माणको क्रममा छन् । यसैबीच बुटवलमा सेफ्रन होटल निर्माणको काम अघि बढाइएको शर्माको भनाइ छ ।

होटलको संस्थापकमा कमल किशोर मालापानी, चुन्नप्रसाद शर्मा, नरिश्वर शर्मा, भूमिराज पौडेल, श्रवणकुमार बेरिवाल र रेखा मालापानी छन् ।
शर्माका अनुसार होटलको कुल चुक्तापुँजी २५ करोडबाट बढाएर ३५ करोड रुपैयाँ पुर्याइएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण हुन लागेको सेफ्रन होटलमा कुल ८ हजार ४९६.६५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

होटलमा २ वटा भवन निर्माण हुनेछन् । जसमा एउटा मुख्य भवन रहनेछ भने अर्को भवनमा रेष्टुराँ र क्याफे रहनेछन् । मुख्य भवन ८ तलाको हुनेछ । जसमा ८१ वटा कोठामा १३० वटा बेड रहनेछन् । शर्माका अनुसार एउटा प्रेसिडेन्सियल स्वीट रुमसहित ४ वटा स्वीट रुम रहनेछन् ।

शर्माका अनुसार होटल निर्माण शुरु भएको ६ महिना भइसकेको छ । कोरोनाका कारण थप असर नपरेमा आगामी ६ देखि ७ महिनामा होटलको बाहिरी संरचना निर्माण हुनेछ भने त्यसपछि इन्टेरियरको काम शुरु हुनेछ । उनका अनुसार संस्थापक ६ जनाले ५० करोड रुपैयाँ लगानी गर्नेछन् भने बैंकबाट १ अर्ब रुपैयाँ कर्जा लिइएको छ ।

होटलमा ४ वटा कन्फरेन्स हल हुनेछन् भने एउटा बेन्क्वेट हल पनि हुनेछ । जसमा १५ सय जना व्यक्तिले एकैपटक सेवा लिन सक्नेछन् ।
८ तले भवनमा चौथौ तलादेखि बेडरुम राखिनेछ । जसमा ४ देखि ७ तलासम्म १७ वटाका दरले र आठौं तलामा १३ वटा रुम हुनेछन् ।

होटलको कुल क्षेत्रफलमध्ये ३२.६२ प्रतिशत क्षेफल खुला हुनेछ । होटल पूर्णरुपमा सञ्चालनमा आउँदा १३० जना पाहुनाले सेवा पाउनेछन भने ११५ जना कर्मचारीले रोजगारी पाउने छन् । होटलको पार्किङमा ११७ वटा कार, २५० भन्दा बढी मोटरबाइक राख्न सकिनेछ ।

होटलले हाल सामाजिक क्षेत्रमा काम गर्नका लागि २८ लाख ६० हजार ५ सय रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ । साथै वातावरणीय प्रभाव मूल्यांकनका लागि ५८ लाख ८ हजार ५०० रुपैयाा खर्च गरिसकेको छ ।


क्लिकमान्डु