बीमाको पहुँच २४.७६% मा पुग्यो, कोरोना बीमाको मात्रै साढे ६% योगदान



काठमाडौं । गत आर्थिक वर्षमा बीमाको पहुँच २.१५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा २२.६१ प्रतिशत जनसंख्यामा पुगेको बीमाको पहुँच गत आवको असार मसान्तसम्म २४.७६ प्रतिशतमा पुगेको बीमा समितिले जनाएको छ ।

यो बैदेशिक रोजगार बीमाको दायरामा आएको जनसंख्या बाहेक हो । बैदेशिक रोजगारी बीमाको दायरामा आएको बीमाको दायरासहित गत आवको असार मसान्तसम्म २७.०२ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ ।

जसमा कोरोना बीमाको योगदानमात्र साढे ६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । २०७७ बैशाखदेखि शुरु भएको कोरोना बीमालेख ०७८ असार मसान्तमा बन्द भएको थियो । सो अवधिमा कोरोना बीमा २० लाख जनाले गराएका छन् ।

२०७८ असार मसान्तसम्म नेपालमा अनुमानित ३ करोड २ लाख ३३ हजार १ सय जनसंख्यामध्ये ६.५८ प्रतिशत जनसंख्याले कोरोना बीमा गराएका छन् ।

बीमा समितिले गत आवमा ३० प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य राखेको थियो । कोरोना भाइरसको कारण भौतिक उपस्थितिका प्रचारप्रसारका कार्यक्रमहरु गर्न नपाउँदा लक्ष्य अनुसारका पहुँच बिस्तार गर्न नसकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘बीमाको पहुँच बढाउन समितिले कोभिडको कारणले गर्दा प्रचार प्रसारका कार्यक्रम गर्न सकिएन, यदि कोरोना नभएको भए ३० प्रतिशतमाथि पहुँच पुग्थ्यो,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘स्थानीय निकायमा जाने कार्यक्रमहरु सबै स्थगित गर्नुपर्यो, तय गरिएका प्रचारप्रसारका अधिकांश कार्यक्रमहरु सम्पन गर्न सकिएन तर पनि बीमा कम्पनीहरु मार्फत् समिति कामहरु गर्न सक्दा २.१५ प्रतिशत पहुँच थप गर्न सफल भएका छौँ ।’

अन्य वर्षको तुलनामा बीमा कम्पनीहरुले नयाँ प्रडक्ट गत आवमा ल्याउँदा र कोरोना बीमा लेखको कारणले गर्दापनि पहुँच वृद्धिमा सहयोग गरेको उनले जानकारी दिए ।

जीवन बीमा कम्पनीको व्यवसाय २७.१२ प्रतिशत र निर्जीवनको व्यवसाय २२.७४ बिन्दुले बढ्यो
बीमा समितिद्वारा प्राप्त तथ्यांकअनुसार कुल ग्राहस्थ उत्पादनमा बीमाशुल्कको योगदान ३.५८ प्रतिशत रहेको छ ।

बीमा क्षेत्रको व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा २६.१८ प्रतिशतले वद्धि भएर १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जसमध्ये जीवन बीमा कम्पनीले गत आवको असार मसान्तसम्म १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

अघिल्लो आवको तुलनामा निर्जीवन बीमा व्यवसाय २२.७४ प्रतिशतले र जिवन बीमा कम्पनीहरुको व्यवसाय २७.१२ प्रतिशतले वृद्धि भएको हो । चालु आवको असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

अघिल्लो आवको असार मसान्तसम्म निर्जीबन बीमा कम्पनीहरुले २५ अर्ब ८७ करोड रुपैयाँ र जिवन बीमा कम्पनीहरुले ९४ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

कोरोना संक्रमणको अवस्थामा पनि व्यवसाय अनुकुल परिस्थीति रहँदा व्यवसाय विस्तार भएको समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

‘निर्जीवन बीमा कम्पनीको व्यवसाय कोरोना भएपनि खास्सै असरमा परेन तर जीवन बीमा कम्पनीहरुको भने व्यवसायमा असर पर्यो, कोरोना संक्रमणको अवस्था नहुने हो भने जिवन बीमा व्यवसाय विस्तार वृद्धिदर अहिलेको भन्दा धेरै हुन्थ्यो,’ उनले थपे, ‘अहिले नै कम्पनीहरु अनलाईबाटै गर्नलाई पुर्णरुपमा प्रविधिमैत्री भइनसकेको हुँदा कोरोनाको कारण जीवन बीमा कम्पनीहरुले घरघरैमा गएर बीमा पोलिसी गर्न बिक्री नसक्दा व्यवसायमा असर परेको हो ।’

भौतिक उपस्थितिमा बीमा पोलिसी बिक्री गर्न नसक्दा र पुराना बीमा पोलिसीलाई नविकरण गर्न नसक्दा बीमा कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा व्यवसाय वृद्धिदर लक्ष्यअनुसार नभएको उनको भनाइ छ ।

अघिल्लो अवको तुलनामा गत आवको असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुको बीमा लेख २३.८१ प्रतिशतले वृद्धि भएर २७ लाख ३१ हजार ७ सय ७३ पुगेको छ । तर, सो अवधिमा जिवन बीमा कम्पनीहरुले जारी गरेको बीमा लेख भने अघिल्लो आवको तुलनामा ०.४१ प्रतिशतले वृद्धि भएर ८६ लाख १२ हजार ८ सय ५० पुगेको छ ।

यसकारण बढ्यो निर्जीवन बीमा कम्पनीको व्यवसाय
कोरोना भाइरसको संक्रमण जोखिमको कारणले गत आवमा सरकारले विभिन्न चरणमा लडकडाउन तथा निषेधाज्ञा गरेको थियो । जसकारण बीमा क्षेत्रको व्यवसाय विस्तार लक्ष्य अनुरुप भएन । तर, निर्जीव बीमा कम्पनीहरुले भने असहज परिस्थीतिमा पनि समयानुकुल रणनीतिले व्यवसाय गर्दा उपलब्धी राम्रो भएको नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए ।

‘निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको अधिकांश हिस्सा मोटर बीमाको छ, तर दुई पांग्रे सवारीको व्यवसायलाई फोकस गरी व्यवसाय गर्दा उपलब्धी राम्रो भएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘कोरोनामा सार्वजनिक यातायात र ४ पांग्रे सवारीको बिक्री घटेको थियो तर यस अवधिमा २ पांग्रेको व्यवसाय बढ्यो त्यसैले गर्दा पनि व्यवसाय बढ्यो ।’

यसबाहेक पनि निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो आवमा गरेको शाखा विस्तारको रिजल्ट अहिले आएको र लघु तथा कृषि बीमामा कम्पनीहरुले व्यवसाय बढाएको उनले जानकारी दिए । साथै, लकडाउनको समयमा कम्पनीहरुले नवीकरणमा छुट दिँदा पनि व्यवसाय बढेको उनको भनाइ छ ।

‘लकडाउनमा कम्पनीहरुले नविकरण बीमा शुल्कमा छुट दिए, त्यसले गर्दा प्रायजसोले नविकरण गराएका छन्,’ उनले थपे, ‘यसबीचमा कम्पनीहरुले करिब २ अर्ब रुपैयाँ नविकरण शुल्कमा छुट दिएका छन्, भने कोरोना बीमाका कारण पनि अन्य क्षेत्रको समेत व्यवसाय बढ्न मद्दत पुग्यो ।’

कोरोना बीमा गराएर विभिन्न उद्योग, व्यवसाय खुलाउँदा त्यसतर्फको समेत व्यवसाय बढेको उनको भनाइ छ ।

समितिको तथ्यांक अघिल्लो आवको तुलनामा अनुसार गत असार मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या ६.९७ प्रतिशतले थप भएर २ हजार ९ सय ३३ पुगेको छ । भने, कर्मचारी संख्या ५.०४ प्रतिशतले थप भएर १० हजार ७ सय २ पुगेको छ ।


क्लिकमान्डु