राष्ट्रिय गौरवका आयोजनामा ५८% बजेट खर्च, कुनको कति ?



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय गौरवका आयोजनामा ५८.३ प्रतिशत बजेट खर्च भएको छ ।

गत आर्थिक वर्ष २१ वटा गौरवका आयोजनाका लागि ८९ अर्ब ४३ करोड ३३ लाख ८१ हजार रुपैयाँ बराबर विनियोजन भएकोमा ५२ अर्ब ९ करोड ५२ लाख ८१ हजार रुपैयाँ बराबर खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार राष्ट्रिय गौरवका २ वटा आयोजनाले शतप्रतिशत खर्च गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ विमानस्थल)ले शतप्रतिशत बजेट खर्च गरेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा तामाकोशी जलविद्युत् आयोजनाका लागि १ अर्ब रुपैयाँ बराबर विनियोजन भएको थियो भने निजगढ विमानस्थलका लागि ५० करोड रुपैयाँ बराबर विनियोजन गरिएको थियो ।

बढी बजेट खर्च गर्ने आयोजनाहरुमा पशुपति क्षेत्र विकास कोषले ९९.२ प्रतिशत, काठमाडौं तराई मधेश फास्ट ट्र्याकले ९७.४ प्रतिशत, हुलाकी राजमार्गले ९५.८ प्रतिशत, महाकाली सिँचाई आयोजनाले ९६.३ प्रतिशत, बबई सिंचाई आयोजनाले ९५.४ प्रतिशत र मध्यपहाडि पुष्पलाल राजमार्ग ९३.९ प्रतिशत खर्च भएको छ ।

राष्ट्रिय गौरवका ५ वटा आयोजनाले आधाभन्दा कम मात्रै बजेट खर्च गरेका छन् ।

सबैभन्दा कम बजेट खर्च भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ । यो आयोजनाका लागि गतवर्ष १० अर्ब ७५ करोड रुयैयाँ बराबर विनियोजन भएकोमा ४.७ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ मात्रै खर्च भएको देखिएको छ ।

त्यस्तै, दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना (लुम्बिनी क्षेत्र विकास कोष)ले २३.८, मेलम्ची खानेपानी आयोजनाले ३३.१ प्रतिशत, बुढीगण्डकी जलविद्युत आयोजनाले २१.६ प्रतिशत र मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालले २८.४ प्रतिशत बजेट खर्च गरेको छ । यी आयोजनाहरुमा गतवर्ष क्रमशः ४ अर्ब ७२ करोड ५० करोड, ४ अर्ब ९० करोड, ५९ लाख, ७ अर्ब ६८ करोड ४३ लाख र ८ अर्ब २० करोड ७० लाख रुपैयाँ बराबर बजेट विनियोजन भएको थियो ।

राष्ट्रिय गौरवका कुन आयोजनामा कति बजेट खर्च ?


क्लिकमान्डु