जीवन बीमा कम्पनीको बीमा शुल्क २७.१२% र निर्जीवनको २३% ले बढ्यो



काठमाडौं । गत आर्थिक वर्ष २०७७/ ७८ मा जीवन बीमा कम्पनीले २७.१२ तथा निर्जीवन बीमा कम्पनीले २२.७४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीको संख्या २० वटा रहेको छ ।
कोभिडको समयमा पनि बीमा कम्पनीहरुको व्यवसाय सन्तोषजनक देखिएको छ । गतवर्ष जीवन र निर्जीवन बीमा कम्पनीहरु जोड्दा १ खर्ब ५२ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन भएको देखिएको छ ।

बीमा कम्पनीले संकलन गरेको बीमा शुल्क जीडीपीको तुलनामा ३.५८ प्रतिशत हो । जनसंख्याको २४.७६ प्रतिशतमा बीमाको पहुँच पुगेको छ ।

बैदेशिक रोजगारीमा जाने व्यक्तिले गर्ने बीमा जोड्दा यो झण्डै २७ प्रतिशत हुन्छ । बीमा कम्पनीले १० हजार ७५२ जना प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन् ।

सर्वेयरको संख्या ४ सय रहेको छ भने बीमा अभिकर्ताको संख्या २ लाख ५० हजार पुगेको छ । जीवन बीमा कम्पनीको चुक्ता पूँजी ३८ अर्ब २१ करोड छ भने निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९ अर्ब २८ करोड रहेको छ ।


क्लिकमान्डु