स्टार्टअपलाई पुरस्कृत गर्ने सरकारको योजनामा तीन कम्पनी मात्रै सहभागी



काठमाडौं । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई पुरस्कृत गर्ने सरकारको योजनामा तीन वटा कम्पनी मात्रै सहभागी भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई पटक समय थपेर आवेदन माग गर्दा पनि स्टार्टअप गरिरहेका व्यक्ति र कम्पनीहरुले सरकारको कार्यक्रममा उल्लेख्य सहभागिता जनाउन सकेनन् ।

मन्त्रालयका अनुसार असार १७ गतेदेखि असार २३ गतेसम्म पहिलो चरणमा र असार २४ गतेदखि असार २९ गतेसम्म दोस्रो चरणमा गरी माग गरिएको आवेदनमा अनुग्रह ह्याण्डीक्राफ्ट, नेपाल ह्यान्डिक्राफ्ट इन्ड्रस्ट्रिज र लिफ प्लस प्रालिको मात्रै आवेदन परेको हो ।

मन्त्रालयले पहिलो पटक आवेदन माग गरेको समयभित्र एउटा मात्रै कम्पनीबाट प्रस्ताव परेको थियो । अर्कोपटक समय थप गर्दा पनि स्टार्टअप गरिरहेका व्यक्ति र कम्पनीहरुबाट पुरस्कृत हुनका लागि चाँसो देखिएन ।

निवेदन परेको यी तीन कम्पनीहरुको थप छनौट प्रकृया र मूल्यांकनको काम चलिरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले नवीनतम ज्ञान, सीप र क्षमताको प्रयोग गरी नमूनायोग्य नवप्रवर्तनकारी उद्योग स्थापना गरेका उद्यमी, फर्म वा कम्पनीलाई लागी कदर र सम्मान गरी थप प्रोत्साहित गर्ने सोच सहित सरकारले यो योजना बनाएको थियो ।

पुरस्कृत हुने कम्पनीहरुले कति बराबरको पुरस्कार राशी वा बीउ पुँजी पाउँछन भन्ने कुरा मन्त्रालयले अझै खुलाइसकेको छैन ।


क्लिकमान्डु