पर्यटन मजदुरले भने- खोप देऊ काममा जान्छौं



काठमडाौं । तीन महिनापछि आंशिकरुपमा खुलेका सौराहाका होटलका मजदूरले काम शुरुआत गर्नुअघि कोरोना बिरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा २ हजार ५०० हाराहारी मजदूर कार्यरत छन् ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेर गत असार अन्तिम साताबाट क्षमताको ३३ प्रतिशत मात्र पाहुना राख्न दिएपछि अधिकांश होटल सञ्चालनमा आएका छन् ।

होटलमा न्यून मात्र मजदूर रहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले खोप नलगाई काम गर्न मजदूरले नमानेको जानकारी दिए ।

उनका अनुसार अनुसार हाल त्यहाँ दैनिक ६०÷६५ पाहुना आउन थालेका छन् । ती पाहुनालाई होटलले सामान्य व्यवस्थापन मात्र गर्दै आएको छ । होटल कुर्न बसेका थोरै मजदूरले होटल सञ्चालन गरिरहेका छन् ।

त्यही बसेका मजदूर र घरमा रहेका दुवैको माग खोप रहेको छ । उहाँका अनुसार मजदूरलाई खोप लगाइदिन जिल्ला प्रशासन कार्यालयमा संस्थागतरुपमा निवेदनसमेत दिइएको छ ।

स्थानीय प्रशासनले आंशिकरुपमा सञ्चालन हुने भएकाले त्यही सङ्ख्याका लागि मात्र खोपको माग गर्न भनेपछि ६०० जना मजदूरका लागि पहिलो चरणमा खोप लगाइदिन अनुरोध गरिएको उनले जानकारी दिए ।

उनले भने ‘अग्रभागमा रहेर काम गर्नेलाई मात्र खोप लगाइदिन सके धेरै सुरक्षित हुन्छ ।’

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले प्रत्यक्षरुपमा पाहुनासँग काम गर्ने मजदूरलाई खोप नलगाई काममा लगाउन कठिन हुने बताए ।

प्राथमिकताका आधारमा आंशिकरुपमा पहिलो चरणमा खोप लगाइदिन सकेमा होटल सञ्चालनमा सहज हुने उनको भनाइ छ । आइतबार मात्र आफ्नो होटल जंगल सफारी लजमा ५ वटा कोठामा पाहुना भएको जनाउँदै उनले ती पाहुनासँग प्रत्यक्ष काम गर्नेलाई खोप लगाउन सकेमा सुरक्षित हुने बताए ।

संघका महासचिव गुणराज थपलियाले होटल सञ्चालनमा आउन थालेको जनाउँदै मजदूरलाई खोप लगाएर सुरक्षित बनाउनुपर्ने बताए । उनले भने ‘हामीले कोभिड– १९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ । मजदूरलाई सुरक्षित गराएर होटल सञ्चालन गर्नुप¥यो ।’

वाग्मती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सङ्घले खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । जङ्गल सफारीका लागि विश्वभरबाट यहाँ पर्यटक आउने गर्दछन् ।

हात्तीमा चढेर गैँडालगायतका वन्यजन्तुको अवलोकन पर्यटकको पहिलो रोजाइ हुने गर्दछ । वन, वन्यजन्तु र वनस्पतिका अलवा यहाँ स्थानीय आदिवासी थारुको जीवन्त झल्कने साँस्कृतिक कार्यक्रम, सौराहा सगै जोडिएका धार्मिक स्थान पर्यटकका लागि थप आर्कषण हुन् । जङ्गल ड्राइभ, जङ्गल वाक, डंङ्गा सफारी, हात्ती र गोही प्रजनन् केन्द्र पनि सौराहा आउने पर्यटकका लागि मनोरञ्जनका थप केन्द्र बन्ने गरेका छन् ।

सो क्षेत्रका १२० होटलमा दुई हजार ५०० श्यया सञ्चालनमा छन् । हाल कोभिडसँगै चितवन राष्ट्रिय निकुञ्जले सामुदायिक वन र निकुञ्जभित्र पर्यटकले गर्ने गतिविधि रोकिइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले केही दिनभित्र नै सामुदायिक वनमा गरिने गतिविधिलाई अनुमति दिइने तयारी गरिएको बताए ।

सामुदायिक वनमा हात्ती सफारी, सामुदायिक वन र निकुञ्जमा जीप सफारी, दुवै ठाउँमा जङ्गल वाक, डुङ्गा सफारीलगायत गतिविधिका लागि निकुञ्जले अनुमति दिनु पर्दछ । वर्षात्का समयमा निकुञ्जभित्र हुने गतिविधि रोक्ने गरिन्छ । बाहिरको भने सधैँ खुला हुने गर्दछ ।