असार मसान्तसम्म बैंकको रिकभरी सन्तोषजनक, प्रोभिजनको सीमा नबढाए नाफाको लक्ष्य पूरा हुने



काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वैशाखदेखि लागू गरेको निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको लक्ष्यभन्दा निकै कम असूली (रिकभरी) गर्ने अनुमान गरिएको थियो ।

तर, गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको रिकभरी ९० प्रतिशत भएको बैंकरहरु बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सम्भावित जोखिमका लागि व्यवस्था (प्रोभिजन)को सीमा नबढाए नाफाको लक्ष्य नजिक पुग्ने बैंकरहरुको भनाइ छ ।

साउन १५ गते अगावै बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को अपरिष्कृत वित्तीय विवरणको तथ्यांक राष्ट्र बैंक पठाउनु पर्नेछ । साथै राष्ट्र बैंकको प्रवधानअनुसार आव सकिएको महिना दिनभित्र वित्तीय विवरणसमेत सार्वजनिक गर्नुपर्ने हुन्छ ।

हालसम्मको रिकभरी सन्तोषजनक नै भएको र प्रोभिजनको अवस्था हेरेर नाफाको तथ्यांक पनि बैंकहरुको राम्रै आउन सक्ने सम्भावना रहेको नेपाल बैंकर्स एसोसियशनका उपाध्यक्षसमेत रहेका कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायले बताए ।

‘अझैपनि समय छ तर असार मसान्तसम्मको रिकभरीलाई राम्रो मान्नुपर्छ, कृषि विकास बैंकको हकमा ८५ प्रतिशतको हाराहारीमा भयो,’ उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘प्रायः बैंकका साथीहरुमा पनि नराम्रो भयो भन्ने कोही छैनन्, पूर्णविवरण प्राप्त भएको छैन । तर ९० प्रतिशत रिकभरी भएको सहजै अनुमान गर्न सकिन्छ ।’

पुनरकर्जाको ब्याजदर, आधारदर र स्प्रेडदर कम भएको हुँदा लक्ष्य अनुसारको नाफामा केही कमी आउन सक्ने उनको अनुमान छ ।

‘अहिलेसम्मको स्थितिमा पुरानालाई समेत गरेर रिकभरी १०/१५ प्रतिशतमात्र डिफल्ट भएको देखिन्छ, नयाँमात्र हेर्दा १० प्रतिशतमा डिफल्ट छ,’ उनले थपे, ‘साना तथा मझौला उद्योग व्यवसाय, पर्यटन, सार्वजनिक यातायाता र खुद्रा व्यवसायको क्षेत्रमा प्रवाहित कर्जाको रिकभरीमा समस्या अझै पनि छ ।’

अहिलेसम्मको रिकभरीको अवस्था सन्तोषजनक नै भएपनि राष्ट्र बैंकले प्रोभिजनको व्यवस्थामा गर्ने सम्बोधनले बैंकहरुको नाफाको परिमाण थपघट गराउने उनको अनुमान छ ।

पछिल्लो समय ब्याज आम्दानीबाट कमाउने भन्दा पनि अन्य व्यवसायबाट बैंकले कमाएकाले नाफा बढेको उनको भनाइ छ ।

‘ब्याजबाट कमाउनेभन्दा पनि मार्जिन लेण्डिङमा बढी लगानी वृद्धि भएको हुँदा आम्दानी बढेको हो । राइट ब्याक पनि धेरै छ’ उपाध्यायले भने, ‘यसबीचमा बैंकहरुले स्वामित्वका धेरै सेयर बिक्री गरेका छन् । राष्ट्र बैंकले नै माइक्रोफाइनान्समा लगानी भएको सेयर पुस मसान्तसम्म सेयर बिक्री गरिसक्नु भनेको छ । त्यसले गर्दा पनि कतिपय बैंकले सेयर बिक्री गर्दा संरचनाको आम्दानी समेत प्रशस्त भएको छ ।’

कतिपय बैंकरुले आफ्ना स्थीर पूँजीका सम्पत्तिहरु पनि अहिले बिक्री गरी आम्दानी बढाएको उनको भनाइ छ ।

बैंकहरुको रिकभरी सन्तोषजनक नै भए पनि नाफाको परिमाणमा भने राष्ट्र बैंकको नीतिले तय गर्ने सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेलले बताए ।

‘सबैले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् प्रोभिजनको व्यवस्था कस्तो गर्ला भनेर कुरिरहेका छन्, नाफाको आकार त्यसपछि थाहा हुन्छ’ उनले क्लिकमाण्डूसँग भने, ‘गत वर्षदेखि नै यातायात, होटल, पर्यटन क्षेत्रको असूलीमा अझै पनि समस्या छ । राष्ट्र बैंकले ती क्षेत्रलाई विषेश सम्बोधन गर्न आवश्यक छ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् दिने भनिएको सहुलियत तथा प्रोभिजनको व्यवस्थाको कार्यान्वयनपछि बैंक तथा वित्तीय संस्थाको वास्तविक नाफाको तथ्यांक थाहा हुने उनको भनाइ छ ।

यता ग्लोबल आइएमई बैंकको समेत कर्जा असूली सन्तोषजनक नै रहेको बैंकका डेपुटी सीइओ महेश ढकालले जानकारी दिए । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ऋणीलाई सहुलियत दिँदा आम्दानी घट्दा नाफाको लक्ष्य प्राप्त नहुने उनको भनाइ छ ।

‘कोरोनाले बढी प्रभावित पर्यटन, एयरलाइन्स, होटल जस्ता क्षेत्रका कर्जा र व्यक्तिगत कर्जा पनि राष्ट्र बैंकको नियमअनुसार पुनरसंरचना र पुनरतालिकीकरण गरेका छौँ,’ डेपुटी सीइओ ढकालले भने, ‘यसरी पुनरसंरचना र पुनरतालिकीकरण गर्दा अहिलेसम्मको व्यवस्थाले प्रोभिजन ५ प्रतिशतमात्र गर्दा पुग्छ तर राष्ट्र बैंकले प्रोभिजनको व्यवस्थामा थपघट गरेमा नाफा संकुचित हुन्छ ।’

तर पुनरसंरचना र पुनरतालिकीकरण गर्दा बैंकको ब्यालेन्ससिटमा रिकभरी भएको देखिए पनि वास्तवमा असूली नहुँदा राष्ट्र बैंकको प्रोभिजन नीतिले नाफामा असर गर्ने उनको भनाइ छ ।

यता, विकास बैंकहरुलाई भने गत आवको कर्जा असुलीमा समस्या नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्षसमेत रहेका मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युम्न पोखरेलले बताए ।

‘प्रायः विकास बैंकहरुले धितोमा आधारित साना कर्जा प्रवाह गर्ने हुँदा असुलीमा खासै समस्या आउँदैन, अहिले अवस्था असामान्य भएपनि ग्राहकहरुले पैसा समयमै तिरेको देखिन्छ,’ पोखरेलले क्लिकमाण्डूसँग भने, ‘खराब कर्जा समेत विकास बैंकहरुको थोरै बढ्ला तर अहिले हेर्दा केही वाच लिष्ट भने बढेर ५ प्रतिशत प्रोभिजन बढ्ने देखिन्छ, त्यसले केही नाफामा असर भने पार्न सक्छ ।’

विकास बैंकहरुको औषतमा ९० प्रतिशत कर्जा असूली भएको हुँदा गत आवको नाफा लक्ष्यअनुरुप नभएपनि धेरै नघट्ने उनको अनुमान छ ।
राष्ट्रियस्तको विकास बैंक कामना सेवा विकास बैंकले गत आवको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेको छ । बैंकले कर्जा असुलीमा गत आव राम्रो गर्न सकेको हुँदा अघिल्लो आवको तुलनामा खुद नाफा उच्च वृद्धि भएको बैंकका सीइओ प्रविण बस्नेतले बताए ।

‘कोरोनाको कारणले राम्रोसँग काम गर्न नसकेपनि ग्राहकले समयमै पैसा बुझाउँदा रिकभरी राम्रो भयो, सीइओ बस्नेतले भने, ‘सायद अन्य विकास समेत राम्रै भएको हुनसक्छ ।’

यद्यपि कामना सेवा विकास बैंकले भने कोरोनाको कारणले गर्दा लक्ष्य अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नसकेको उनको भनाइ छ ।


क्लिकमान्डु