पुँजी बजारका आफ्नै समस्या छन्, सबैको हितमा हुनेगरी नीति निर्माण गर्छौं: अर्थमन्त्री



फाइल फाेटाे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलगायत समग्र मौद्रिक क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारसँग सबै क्षेत्रको अपेक्षा रहेको उनीहरुका समस्या बुझेर समाधानका लागि पहल गर्ने बताएका हुन् । पुँजी बजार र मुद्रा बजारका समस्याबारे पनि सरकारले केही नीति बनाएर अघि बढ्ने उनले बताए ।

‘सरकारसँग सबै क्षेत्रको अपेक्षा छन् । नयाँ मौद्रिक नीतिमा केहि व्यवस्थाहरु समेटिनुपर्छ भन्ने चाहना छन् । ती सबै कुराको छलफलमा हामी जुटेका छौं,’ अर्थमन्त्री शर्माले भने, ‘पुँजीबजारका पनि आफ्नै समस्या छन् । सर्वसाधारणलाई कसरी उनीहरुको हितमा हुन्छ भन्ने नीति निर्माण गर्नेछौं । यो पनि राजस्वको महत्वपूर्ण क्षेत्र हो ।’

पुँजीगत लाभकरबाट आर्थिक वर्ष २०७७/७८ मा १४ अर्ब बढी राजस्व भएकाले पुँजीबजार पनि राजस्वको राम्रो क्षेत्र रहेको उनले बताए ।
नवगठित सरकार ले आफुले अबको कार्यदिशा कसरी अगाडि बढ्न भनेर विभिन्न निकाय र तहसँग छलफल गरिरहेको पनि अर्थमन्त्री शर्माले बताए ।

‘मन्त्रालयका दैनीक कामहरु भइरहेका छन् । आज मात्रै मैले अर्थमन्त्रालयको सबै महाशाखा प्रमुखहरुसँग छलफल गरे । अबको हाम्रो आर्थिक मार्गचित्र कस्तो हुने भन्नेमा हामी छलफलमा छौं,’ उनले भने ।


क्लिकमान्डु