काठमाडौंमा महानगरभित्र बैंक सञ्चालन गर्दा कति कर लाग्छ ? एटीएम सञ्चालन गर्दा पनि कर तिर्नुपर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बैंक तथा वित्त कम्पनीहरुले एटीएम सञ्चालन गर्दा ५ हजार रुपैयाँ कर बुझाउनु पर्ने भएको छ । महानगरले आर्थिक विधेयक पारित गर्दै प्रतिएटीएम ५ हजार रुपैयाँ कर उठाउने भएको हो ।

नगरसभाबाट गत असार २० गते आर्थिक विधेयक पारित गरेको थियो । तर, मेयरले प्रमाणिकरण गरेपछि साउन १ गतेदेखि आर्थिक ऐन कार्यान्वयनमा आउनेछ ।

एटीएम सेवा सञ्चालन बाहेक काठमाडौं महानगरले लघु वित्तीय संस्थाको केन्द्रीय कार्यलयलाई २० हजार रुपैयाँ र प्रतिशाखा कार्यालयलाई ५ हाजार रुपैयाँ कर असुल गर्ने भएको छ ।

तर, काठमाडौं महानगरले लकडाउन तथा निषेधाज्ञा अवधिभरका लागि २० प्रतिशत कर छुट दिएको छ ।

महानगरले यसअघि नै वाणिज्य बैंकको हकमा केन्द्रीय कार्यलयलाई १ लाख रुपैयाँ, प्रतिशाखा ५० हजार रुपैयाँ र विस्तार काउण्टरलाई २० हजार रुपैयाँ कर निर्धारण गरेको छ ।

साथै, विकास बैंकहरुको हकमा केन्द्रीय कार्यालयलाई ७५ हजार रुपैयाँ, प्रतिशाखा ४० हजार रुपैयाँ र विस्तारित काउण्टरलाई १५ हजार रुपैयाँ कर निर्धारण गरेको छ ।

यस्तै, फाइनान्स कम्पनीहरको हकमा केन्द्रीय कार्यालयलाई ५० हजार रुपैयाँ र प्रतिशाखा २५ हजार रुपैयाँ कर तोकेको छ भने सहकारी बैंकको हकमा केन्द्रीय कार्यालयलाई २५ हजार रुपैयाँ, प्रतिशाखा कार्यालयलाई १५ हजार रुपैयाँ कर निर्धारण गरेको छ ।

साथै, लघुवित्त र सकारी संस्थाको हकमा ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म कर निर्धारण गरेको छ ।

यसैगरी, बीमा कम्पनीको केन्द्रीय कार्यालयलाई ५० हजार रुपैयाँ र प्रतिशाखा २० हजार रुपैयाँ, सेयर रजिष्टर गर्ने कम्पनीलाई २५ हजार रुपैयाँ, आर्थिक इन्भेष्टमेण्ट कम्पनीलाई १० हजार रुपैयाँ, मनि एक्सचेञ्जलाई १५ हजार रुपैयाँ र प्रतिशाखा ५ हजार रुपैयाँ र रेमिट कम्पनीलाई ४ हजार रुपैयाँ वार्षिक कर निर्धारण काठमाडौं महानगरपालिकाले गरेको छ ।


पुष्प दुलाल