महासंघ उपाध्यक्ष संघाईको कम्पनीले बेच्ने ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाइको कम्पनी त्रिवेणी व्यापार कम्पनीले बिक्री गर्दै आएको ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।

त्रिवेणी व्यापार कम्पनीले बिहीबार मात्रै विभिन्न सञ्चारमाध्यममा ‘कोरोनागार्ड’ले कोरोना भाइरस संक्रमण रोक्ने, कोरोनागार्डले ओगट्ने एक हजार स्वायर फिट क्षेत्रफलमा कोरोनालगायतका कुनै पनि भाइरस नसर्ने र मास्क लगाउनु नपर्ने भन्दै भ्रामक एड्भोटोरियल प्रकाशित गरेको थियो ।

‘एक हजार स्वायरफिटको क्षेत्रफलसम्म बिनाकुनै मास्कको प्रयोग नै दैनिक कार्य र व्यवहार सञ्चालन गर्न सक्दछौं, यसको प्रयोगले श्वासप्रश्वासको माध्यमबाट फैलिने कोरोना भाइरस तुरुन्त निष्क्रिय भई सो क्षेत्रफलभित्र उपस्थित रहने सम्पूर्ण जीवजन्तु भाइरसको प्रकोपबाट मुक्त रहनेछन् । यो कोरोनागार्ड कुनै पनि भाइरसलाई नियन्त्रण र निष्प्रभावी बनाउन सक्षम छ,’ प्रकाशित विज्ञापनमा दावी गरिएको छ ।

यस्तो छ त्रिवेणी व्यापार कम्पनीले समाचार शैलीमा प्रकाशित गरेको विज्ञापन

एउटा कोरोनागार्डको मूल्य ४० हजार रुपैयाँ पर्ने कम्पनीको भनाइ छ । जसमा डेलिभरी, जडान र भ्याट समेत जोडिएको छ । हाल कम्पनीले कोरोनागार्डको बुकिङ खुलामात्रै गरेको हो । कम्पनीले हाल भारतबाट कोरोनागार्ड ल्याउने तयारी गरिरहेको छ ।

‘एउटा कोरोनागाार्ड ल्याएर कार्यालयमै परीक्षण गरिएको छ, बाँकी आयात हुँदैछ, केही दिनभित्रै आइपुग्छ, हाललाई बुकिङमात्रै गरिएको हो,’ कम्पनीका एक कर्मचारीले भने ।

कम्पनीले बिहीबार विज्ञापन गरिसकेपछि भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोनागार्ड’बारे गरिएको भ्रामक विज्ञापन नफस्न सूचना जारी गरेको हो ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो ।

मन्त्रालयले बजारमा चलिरहेको हल्लाको पछाडि नलाग्न भन्दै सरकारी निकायबाट सार्वजनिक सूचना नै जारी गरेको हो ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना

अहिले बजारमा कोरोना गार्डजस्ता उपकरणहरुबाट महामारीबाट बच्न सकिने भ्रामक सूचना फैलाईएकाले त्यसबाट सतर्क रहन भन्दै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक सूचना निकालेको छ ।

‘कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरु नकिन्नु होला,’ केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘विज्ञापन गरिएजस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निश्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेपछि मास्क लगानउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहिन छ ।’

अहिलेसम्म कोभिड १९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास नभएको पनि केन्द्रले जनाएको छ ।

मन्त्रालया सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण कोरोनागार्ड नकिन्न आग्रह गरे ।

विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड-१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ,’ डा. अधिकारीले भने, ‘अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।’

गतवर्ष पनि कोरोनाको भाइरसबाट जोगाउनका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग गरिएकोमा मन्त्रालयले उक्त कार्ड प्रयोग नगर्न आग्रह गरेको थियो । उक्त कार्डले कोरोना भाइरस सङ्क्रमणबाट नजोगाउने उल्टै मुटु, फोक्सोलगायतमा गम्भीर असर पार्नसक्ने बताइएको थियो ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि एकमात्र उपाय खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गर्ने बताएको छ ।

यस्तै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले संक्रमणबाट बच्न सुरक्षाका सबै उपाय अपनाई व्यापार गर्न समेत आग्रह गरेको छ ।

यस विषयमा क्लिकमाण्डूले त्रिवेणी ग्रुपका प्रमुख रामचन्द्र संघाईलाई सम्पर्क गर्दा आफू अहिले प्रधानमन्त्री भेट्न सिंहदरबारमा रहेको र उक्त व्यापार छोराले हेर्ने भन्दै पन्छिए ।


पुष्प दुलाल