विदेश जाने घटेपनि रेमिट्यान्स साढे १२ % ले बढ्यो, जेठ मसान्तसम्म ८ खर्ब ७० अर्ब बढी



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा रेमिटेन्स १२.५ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्म ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३.२ प्रतिशतले घटेको थियो ।

साथै, समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई ९ सय ७१ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु