नयाँ सरकारको भिजनअनुसार नयाँ बजेटको तयारी गरौंः अर्थमन्त्री शर्मा



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले नयाँ बनेको सरकारको आवश्यकता र भिजनअनुसार आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट संशोधन गरिने बताएका छन् ।

बुधबार अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै कर्मचारीहरुसँगको पहिलो बैठकमा शर्माले बजेट संशोधन गर्ने विषय इंगित गरेका हुन् ।

‘बजेटका सन्दर्भमा अदालतले केहि कुरा बोलेको पनि छ । नयाँ सरकारको आफ्ना आवश्यकता र भिजनको कुरा पनि छ । यसबारे हामी विस्तृछ छलफलमा लागौं,’ अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई केहि परिवर्तन गरी संसदबाटै पारीत गरेर ल्याउने नयाँ सरकारको तयारी छ ।

अर्थमन्त्री शर्माले आफू अर्थतन्त्रको राम्रो ज्ञाता नभएको र संयोगले अर्थमन्त्रीको जिम्मेवारीमा आइपुगेकाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्न पनि कर्मचारीलाई आग्रह गरेका छन् ।

‘म संयोगले अर्थमन्त्रीको भए । मलाई विश्वास गरेर यो जिम्मेवारी दिइयो,’ शर्माले भने, ‘म अर्थशास्त्रको कुनै विज्ञ होइन । कुनै विश्वविद्यालयमा ठूलो अध्ययन गरेर आएको पनि होइन । तर अहिलेको समस्या कहाँनेर छ भन्नेकुराको पहिचान गर्नसक्छु ।’

मन्त्रालयका कामकारबाही प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारी संयन्त्रबाट ठूलो सहयोगको अपेक्षा आफूले राखेको पनि शर्माले बताए ।

‘तपाईंहरुले अर्थतन्त्रका बारेमा सामान्य ज्ञान भएको साथी मन्त्री पाउनुभएको छ । मलाई कसैले चाकडीको भाषा बोल्नुपर्दैन । थाहा भएका र सुझाव दिने विषयमा कसैले अप्ठेरो मान्नुपर्दैन,’ उनले भने ।


क्लिकमान्डु