बजेट संशोधन गर्ने नवगठित सरकारको तयारीः संसद चल्नुअघि हुने खर्चको वैकल्पिक व्यवस्था गरिने



काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा मंगलबार गठन भएको नयाँ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ कालागि अघिल्लो सरकारले ल्याएको बजेट संशोधन गरेर जाने भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नयाँ सरकारले नयाँ बजेट ल्याउने गरी गठबन्धनभित्र छलफल भईरहेको क्लिकमाण्डुसँग बताए ।

‘अदालतले पनि बजेट वैधानिक छैन भनेर बोलिसकेको छ । बजेट प्रतिनिधिसभा भन्दा बाहिरबाट ल्याउन सकिदैनन भनेर संविधानमै व्यवस्था गरिएको छ । नयाँ सरकारले नयाँ बजेटको तयारी गर्छ,’ पुनले भने ।

नयाँ आर्थिक वर्ष शुरु हुन अब २ दिनमात्र बाँकी छ । तर पुनस्र्थापित संसदको बैठक भने बोलाईएको छैन । नयाँ आर्थिक वर्ष शुरु हुनेबित्तिकै नयाँ बजेट कार्यान्वयनमा जाने अवस्था हुने संसद शुरु भएर बजेट पेश गर्नुभन्दा अगाडिको अवस्थामा केहि वैकल्पिक व्यवस्था गरेर जान सकिने पुनको भनाइ छ ।

‘संसद सुचारु नहुन्जेलसम्मको एक–दुई हप्ताका लागि चल्ने खर्चको केहि वैकल्पिक व्यवस्था गरेर बाँकी फुलफ्लेज बजेटको तयारी हुन्छ, पुनले भने, ‘आगामी आर्थिक वर्षको बजेटबाट केहि खर्च पनि भइसकेको होला । त्यसका लागि केहि अन्तरिम व्यवस्था गर्न सकिन्छ ।’

पुनले सरकारको विनियोजन र राजस्व नीति दुवै हेरफेर हुने पनि बताए । ‘संसद छलेर कर लगाउने, करका दर र दायरा बिस्तार गर्ने, खर्चमा अनावस्यक दायित्व सिर्जना गर्ने लगायतका काम गर्न पाइदैन,’ उनले भने, ‘यो अवैधानिक हो भनेर अदातलले बोलिसकेको कुरा हो । संसदमा बजेट पेश नभएको अवस्थाका लागि केहि अन्तरिम व्यवस्था गर्छौं । त्यो गर्नैपर्छ ।’


क्लिकमान्डु