असारमा २७ प्रतिशतमात्रै उठेपछि आयकर तिर्न ताकेता, असारभित्र नबुझाए जरिवाना



काठमाडौं । आयकरको अन्तिम किस्ता भुक्तानी तथा वार्षिक अनुमानित आय-व्ययको विवरण संशोधनको काम असार मसान्तभित्र गरिसक्न आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गरेको छ ।

विभागकाअनुसार असार महिनाको असूली लक्ष्यमा २७ प्रतिशत र वार्षिक लक्ष्यमा ८० प्रतिशत बराबरमात्रै आयकर संकलन भएको छ । यसरी करदाताले अपेक्षित रुपमा आयकर भुक्तानी नगरेपछि आर्थिक वर्ष २०७७/७८ को आयकरको तेस्रो किस्तावापतको रकम दाखिला गर्न भन्दै विभागले सार्वजनिक सूचना जारी गरेको हो ।

कोभिड १९ महामारीका कारण धेरैले रोजगार गुमाएको र निषेधाज्ञा अवधिमा आम्दानी घटेका कारण त्यसको केहि असर आयकरको असूलीमा परेको देखिन्छ ।

अनौपचारिक क्षेत्र महामारीबाट बढी प्रभावित भएपनि अरु औपचारिक क्षेत्रका करदाताबाटसमेत आयकर भुक्तानी सुस्त देखिएको छ ।

विभागको सूचनाअनुसार आर्थिक वर्ष सकिनुअघि नै करदाताले शतप्रतिशत रकममध्ये तिर्न बाँकी रकम तिरिसक्नुपर्नेछ ।

करदाताले पेश गरेको अनुमानित आयव्यव विवरण संशोधन गर्नुपर्ने भएमा सोसमेत गरी असार मसान्तभित्रै सम्बन्धित करदाता कार्यालयमा बुझाउनुपर्ने विभागले जनाएको छ ।

असार मसान्तभित्रमा सबै आयकर नबुझाए थप शूल्क, ब्याज र जरिवाना लाग्नेछ ।


पुष्प दुलाल