तल्लो अरुण जलविद्युत् आयोजना अघि बढाउन भारतीय कम्पनी सतलजसँग एमओयू



काठमाडौं । लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन) बीच तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।

६७९ मेगावाट उत्पादन क्षमताको यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २ वर्षभित्रमा सक्ने र सम्पूर्ण आयोजना निर्माणको काम आगामी ७ वर्षभित्र निर्माण गरिसक्ने गरी सम्झौता भएको हो ।

‘२ वर्षभित्रमा डीपीआर बनाइसक्ने र आयोजना विकास सम्झौता (पीडीए) गर्नेगरी एमओयु भएको छ, लगानी बोर्डका प्रवक्ता रमेश अधिकारीले क्लिकमाण्डुसँग भने, ‘पीडीए भएको २ वर्षभित्रमा वित्तीय व्यवस्थापन गरिसक्नुपर्नेछ ।’

संखुवासभा र भोजपुर जिल्लामा बन्ने यो आयोजना नेपालको जलविद्युत् क्षेत्रमा अर्को महत्वपूर्ण कोशेढुंगा साबित हुने लगानी बोर्डको कार्यालयले जनाएको छ ।

भारतीय कम्पनी एसजेभिएनले ९ सय मेगावाट उत्पादन क्षमताको अर्को आयोजना अरुण-३ निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ४० प्रतिशत बराबर रहेको लगानी बोर्डले जनाएको छ ।


क्लिकमान्डु