तालिमकर्तालाई लाइसेन्स र वालेटबाट पनि भुक्तानी गर्ने बनाउनु पर्छः नेप्से सीइओ साउँद
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सीइओ चन्द्रसिंह साउँदले सेयर कारोबारवापतको रकम भुक्तानी इसेवालगायतका वालेटबाट समेत गर्न पाउने व्यवस्था गरिनु आवश्यक भएको बताएका छन् ।
धितोपत्र बोर्डको आगामी नीतिका लागि सुझाव संकलन कार्यक्रममा बोल्दै साउँदले हाल भइरहेको भुक्तानीको व्यवस्था संशाेधन गर्नुपर्ने बताए ।
‘हाल टीएमएसमा क्लियरिङ हाउसमार्फत् भुक्तानी भइरहेको छ । त्यसलाई अब संशोधन गरी एपीआईको नीति पास गर्न सकियो भने बजारमा लगानीकर्ताले सहज ढंगले कारोबार गर्न पाउनेछन् । यसले इसेवा जस्ता वालेटबाट भुक्तानीको व्यवस्था भयो भने सहज हुन्छ,’ उनले भने ।
उनले ब्रोकर आफैले पनि छुट्टै प्रणाली विकास गर्न दिने गरी नीतिमा व्यवस्था गरिनु पर्ने बताए ।
उनले बोर्डको नीतिमा राइट रिनाउन्ससँग सम्बन्धित विषय, इन्ट्रा डे, लेन्डिङ ब्रोइङका विषयमा धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेटिनु पर्ने बताए ।
उनले ओसीटी मार्केटलाई एसएमई अन्तर्गत धितोपत्र बोर्डले निर्देशन दिइसकेको अवस्थामा त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छौं । यसका लागि छुट्टै कम्पनी स्थापना गरेर सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको बताए ।
साउँदले छुट्टै बोर्डको नीतिमा राफसाफ केन्द्रको स्थापना र सञ्चालनको विषय पनि समेटिनु आवश्यक रहेको बताए ।
उनले सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबारयोग्य बनाउनका लागि पनि सम्बोधन गरिनुपर्ने बताए ।
‘यो काम ढिला भइसकेको छ अब छिट्टै कार्यान्वयन गरिनुपर्छ आगामी वर्षमा जसरी पनि कार्यान्वयन गर्नका लागि नीति तथा कार्यक्रममा राख्नुपर्छ,’ उनले भने ।
उनले संस्थागत ब्रोकर कम्पनीको विकास गर्ने र वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा पनि आगामी नीति तथा कार्यक्रममा राख्नुपर्छ । भएका ब्रोकरको क्षमता वृद्धि गर्ने, पुँजीवृद्धि र पब्लिक लिमिटेड कम्पनीका रुपमा परिवर्तन गरी कामको दायरा र क्षमता बढाउने विषयलाई नीतिमा समेट्नुपर्ने सुझाव दिए ।
हाल सेयर ट्रेनिङ इन्स्टिच्युटहरु पनि नभएको अवस्थामा अब तालिमकर्तालाई लाइसेन्स दिने विषय पनि नीतिमा समेटिनु आवश्यक रहेको उनको माग छ । लाइसेन्स भइसकेपछि भोलिका दिनमा नियन्त्रण गर्न पनि सहज हुने भन्दै नीतिमा समेटिनुपर्ने उनको सुझाव छ ।