नेपाल भित्रियो ७९८ सीसी इन्जिन क्षमताको ८० लाख रुपैयाँ पर्ने एमभी अगस्टा मोटरसाइकल



काठमाडौं । एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपाल भित्रिएको छ । एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपालमा भित्र्याएका हुन् ।

उक्त मोटरसाइकलको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

विश्व प्रसिद्ध इटालियट ब्रान्ड एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल ३०० युनिटमात्र उत्पादन भएको छ । ज्योतीले १४४औं उत्पादन नेपाल ल्याएका हुन् ।

‘अहिले नेपालमा ल्याइएको मोटरसाइकल बिक्रीका लागि उपलब्ध छैन,’ अध्यक्ष ज्योतिले क्लिकमाण्डूसँग भने, ‘एसजे मोटोको ग्यालेरीमा राख्नका लागि ल्याइएको हो ।’

यदि कसैले मोटरसाइकल खरिद गर्न चाहेमा नयाँ मोटरसाइकल उपलब्ध गराउन सकिने उनले जानकारी दिए ।

एसजे मोटो नेपालमा नयाँ र रिफर्बिस गरिएका सुपरबाइकहरुको लागि एक प्रिमियम मोटरसाइकल शोरुम (ग्यालरी) हो । नेपालमा बिक्री वितरण हुने गरेका र विश्वका उत्कृष्ट मोटरसाइकलहरु ग्यालेरीमा राखिएका छन् ।

ज्योति सञ्चालक रहेको स्याकर ट्रेडिङ नेपालमा होन्डा मोटरसाइकलको आधिकारिक बिक्रेता हो । उनको संकलन केन्द्रमा होन्डा बाइक मात्र छैनन् । ग्यालरीमा होन्डा, यामाहा डुकाटी, एमभी अगस्टा, सुजुकी, हार्ले डेभिडसनलगायत थुप्रै चर्चित ब्रान्डहरू छन् ।

‘यो एउटा ब्राण्डको मोटरसाइकल प्रमोट गर्ने ग्यालरी हैन । यो मल्टिब्राण्ड ग्यालरी हो,’ उनले भने, ‘यो मोटरसाइकलको संस्कृति प्रवद्र्धन गर्ने केन्द्र हो ।’

नेपालमा शुरुवाती दिनमा भित्रिएका मोटरसाइकलदेखि पछिल्लो समय विश्व बजारमा सर्वाधिक चर्चा कमाएका सुपर बाइक ग्यालरीमा छन् । नेपालको यातायात क्षेत्रमा मोटरसाइकलको ठूलो योगदान छ । ग्यालरीमा नेपाल तथा विश्वमा प्रयोग भएका चर्चित र पुराना मोटरसाइकल देख्न सकिन्छ । साथै ग्यालरी अवलोकनकर्ताले कफी, कल्चर र फनसहितको सेवा सुविधा पाउनेछन् ।

ग्यालरी अवलोकन गर्न कुनै शुल्क लाग्दैन । निःशुल्क मोटरसाइकलको इतिहास र प्रविधिको बारेमा जानकारी लिन सकिन्छ । एसजे मोटोले रिकण्डिसनको सेवा पनि उपलब्ध गराउँदै आएको छ । एसजे मोटोमा विभिन्न ब्राण्डको नयाँ र पुरानो मोटरसाइकल उपलब्ध छ ।

ग्यालरीमा मोटरसाइकलका साथै मोटरसाइकलको पार्टपूर्जा, सेफ्टी गियर, हेल्मेट, पञ्जा लगायत उपकरण पनि राखिएका छन् । एसजे मोटो मोटरसाइकलको ‘वान स्टप डेस्टिनेसन’को रुपमा सञ्चालनमा ल्याइएको उनको दावी छ ।

७९८ सीसीको इन्जिन

मोटरसाइकलमा ३ सिलिन्डरयुक्त ७९८ सीसीको इन्जिन छ । यो इन्जिनले १३ आरपीएममा १४८ एचपी अधिकतम पावर र १०.६० आरपीएममा ८.९७ केजीएम टर्क जेनेरेट गर्छ ।

मोटरसाइकलको उच्चतम गति २४० किलोमिटर प्रतिघण्टा छ । मोटरसाइकलको तौल १७३ किलोग्राम छ ।


पुष्प दुलाल