सेवोन पूर्वअध्यक्ष कार्कीको प्रश्नः बैंकलाई ब्रोकर लाइसेन्स दिन किन ढिलो गरेको ?



काठमाडौं । धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले बैंकलाई ब्रोकर लाइसेन्स किन नदिएको भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षको धितोपत्र बजार तथा वस्तु विनिमय नीति तथा कार्यक्रमको प्राथमिकतामा सुझाव दिँदै उनले सो बताएका हुन् ।

‘बजारको समस्टिगत वृद्धि र विस्तारका लागि बोर्डले अझ थप ध्यान दिन आवश्यक छ, स्वास्थ्य लगानीको वातावरण सिर्जना गरी लगानीकर्ताको हितका लागि बजारको स्थायी विकास गर्न बोर्ड ब्रोकरको क्षमता पुँजी थप गरी एड्भाइजरको स्वीकृति दिन सकिन्छ,’ उनले भने, ‘अर्थतन्त्रमा पुँजी बजारको थप सहयोगका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स समयमै दिनुपर्छ ।’

उनले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन ढिलाइ भएकोमा चासो राख्दै तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने बताए ।

‘भारतलगायत अन्र्तराष्ट्रिय रुपमा विभिन्न देशहरुमा बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिएपछि त्यहाँको अर्थतन्त्रमा विकास र विस्तारमा पुँजी बजारले ठूलो सहयोग गरेको देखिन्छ,’ उनले भने, ‘नेपालमा आधुनिक प्रविधिको क्षमता भएको स्टक एक्चेञ्ज स्थापना हुनपर्छ, नयाँ एक्चेञ्ज कर्पोरेट मोडेलमा ल्याउनु पर्छ तर तर यस्तो स्टक एक्सचेञ्ज व्यक्तिगत तबरबाट भन्दा पनि सामूहिक रुपमा ल्याउन पर्छ ।’

आजको दिनमा पनि ९० प्रतिशत लगानीकर्ताहरु हल्लाको पछि लागेर लगानी गर्ने हुँदा त्यसमा नेप्सेले डाटा मूल्यांकन सिस्टमलाई प्रभावकारी बनाउनु पर्ने उनले बताए ।

साथै, नेप्सेको अहिलेको सिस्टमले बजार सञ्चालकमा समस्या आएको हुँदा सेवोनले छुट्टै अन्तर्राष्ट्रिय रुपमा टेस्टेड नयाँ सिस्टममा छिटोभन्दा छिटो ल्याउन निर्देशन दिनुपर्ने उनले सुझाव दिए ।


क्लिकमान्डु