अफगानिस्तान युद्धमा ९७८ अर्ब डलर खर्च गरेको अमेरिकाले के फाइदा गर्यो ?



एजेन्सी । सन् २००१ सेप्टेम्बर ११ मा बिन लादेनले अमेरिकको ट्वीन टावरमा हमला गरेपछि अमेरिकाले अफगानिस्तानमाथि हमला गर्ने निर्णय गर्यो ।

तालिवानी सरकार अपदस्त गर्ने र विन लादेनलाई सिध्याउने ध्येयका साथ अमेरिकाले अफगानिस्तानमा हमला गर्दा के कति मात्रामा खर्च गर्यो होला भन्ने आम चासो रहेको छ ।

पछिल्लो पटक अमेरिकाले आफना सैनिक फिर्ताको तयारी गरेको छ । सोही क्रममा अफगानिस्तानको बगराम विमानस्थल समेत छाडेको छ । अफगानिस्तानमा हमला शुरु गर्न आएपछि अमेरिकाले सो विमानस्थल कब्जा नै गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले अब छिट्टै अमेरिकी सेना फिर्ता हुने बताइसकेका छन् । सन् २००१ देखि शुरु भएको युद्धले अफगानिस्तानलाई धुलो पिठो बनाइदिएको छ ।

महत्वपूर्ण सम्पदाहरु ध्वस्त भएका छन् । अर्थतन्त्र डामाडोल भएको छ । अफगानिस्तानले अमेरिकाले १ लाख फौज उतारेको थियो ।

अमेरिकी कँग्रेसले गरेको एक अध्ययन अनुसार २०२० को तेस्रो त्रैमासमा मात्रै अफगानिस्तानमा मात्रै ७ हजार ८०० अमेरिकी नागरिक रहेका छन् ।

सेनाको संख्या बढी भएको समयमा मात्रै वार्षिक रुपमा खर्च मात्रै सय अर्ब डलरभन्दा माथि पुगेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अफगानिस्तान युद्ध शुरु भएको अक्टोवर २००१ देखि सेप्टेम्बर २०१९ को बीचमा मात्रै ७७८ अर्ब डलर खर्च भएको छ ।

अफगानिस्तान र पाकिस्तानमा अमेरिकी खर्चको बारेमा अध्ययन गरेको ब्राउन युनिभर्सिटीका अनुसार अमेरिकाको ९७८ अर्ब डलर खर्च भएको छ । सो अध्ययनमा सन् २०२० मा भएको खर्च समेत जोडिएको छ । उक्त परिमाणको रकम मध्ये केही मात्रा भने भ्रष्टाचार र गलत काममा समेत खर्च भएको छ ।

तालिबान विरुद्धको संघर्षमा आएको अमेरिकी फौजको मात्रै २३०० बढी सैनिक मारिए । यस्तै, २० हजार ६६० सैनिक लडाईंको क्रममा घाइते भए । अफगानी राष्ट्रपति असरफ घानीले सन् २०१९ मा बताए अनुसार पछिल्लो ५ वर्षमा मात्रै अफगानी सुरक्षा बलका ४५ हजार बढीले ज्यान गुमाएका थिए ।

ब्राउन विश्वविद्यालयका अनुसार सन् २०१९ सम्म ६४ हजार १०० बढी अफगानी सैनिक र प्रहरीले ज्यान गुमाएका छन् । सन् २००९ देखि पछिल्लो समयसम्म कूल १ लाख ११ हजार बढी अफगानी नागरिक मारिएका छन् ।


क्लिकमान्डु