मंगलबार पनि घट्यो नेप्से परिसूचक, कारोबार रकम बढ्न सकेन
काठमाडौं । केही दिनयता सुस्ताएको सेयर बजारले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार ५.२४ अंकले घटेर नेप्से परिसूचक २८१८.११ अंकमा सीमित भएको छ ।
यो दिन १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँमा कारोबार भएको छ । एक महिना अघिसम्म दैनिक १७ देखि १९ अर्ब रुपैयाँसम्म कारोबार भएकोमा केही दिनयता ४ देखि ६ अर्बको कारोबार मै सीमित बन्न पुगेको छ । धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै सेयर कारोबार सुस्ताएको देखिएको जानकारहरुको भनाइ छ ।
त्यसैगरी यो दिनको कारोबारमा बैंकिङ, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, माइक्रोफाइनान्सलगायतका सब इन्डेक्स वृद्धि देखिँदा जलविद्युत्, फाइनानस, ट्रेडिङ र लगानी समूहमा गिरावट देखिएको छ ।
यो दिन ७७ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ भने १२० वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी २३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, माउन्टेन इनर्जी नेपाल, , सिभिल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, समटि मााइक्रो फाइनान्सलगायतका कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमााउने कम्पनीमा एचआइडीसीएल माथिल्लो तामाकोसी, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र नेशनल हाइड्रोपावर कम्पनीलगायतका कम्पनी छन् ।