माथिल्लो तामाकोशी निर्माण सम्पन्न, सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



C

काठमाडौं । आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ७ वर्षपछि राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमबार औपचारिक रुपमा राष्ट्रिय प्रशारणलाइनमा जोडिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट तामाकोशीको औपचारिक उद्घाटन गर्नेछन् ।

सोमबार आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिनेछ भने असारभित्रै अर्को युनिट पनि सञ्चालनमा ल्याएर थप ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

माथिल्लो तामाकोशी पूर्ण स्वदेशी लगानीमा बनेर हालसम्म निर्माण सम्पन्न भएको आयोजना हो ।

यो आयोजना आर्थिक वर्ष २०६७/६८ मा शुरु गरेर २०७१ चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर लक्षित समयभन्दा ७ वर्ष पर धकेलिएर आयोजना बनेको हो ।

आयोजनामा जम्मा ६ वटा युनिट रहेकोमा एक-एक गरी सबै युनिट सञ्चालन गर्ने र यो वर्षभित्र पूर्णक्षमतामा सञ्चालनमा आइसक्नेछ । शुरूमा एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गरी शुरू हुनेछ भने बाँकी बिस्तारै सञ्चालन गरिनेछ ।

आयोजनाको शुरुवाती लागत अनुमान ३५ अर्ब रुपैयाँ बराबर रहेकोमा अहिले बढेर ब्याज पुँजीकरणसहित ७६ अर्ब रुपैयाँ बराबर पुगेको छ । आयोजना निर्माणमा ढिलाइ हुँदा ब्याज पुँजीकरण मात्रै २४ अर्ब पुगेको छ । त्यसबाहेकको आयोजना निर्माण लागत साढे ५२ अर्ब नाँघेको छ ।

आयोजनालाई राष्ट्रिय प्रशारणमा जोड्ने २ सय २० केभी गोंगर–खिम्ती प्रशारणलाइनको निर्माण सम्पन्न भइसकेको छ भने प्रशारणलाइनको परीक्षण पनि सफल भइसकेको छ । माथिल्लो तामाकोशी पूर्ण संचालनमा आएपछि हाल नेपालले भारतबाट गर्दै आएको उर्जालाई बिस्थापित गर्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु