कोरोनाले बढायो माथिल्लो साञ्जेनको लागत, यसै वर्ष सम्पन्न गर्ने दावी



काठमाडौं । कोरोना कहरका कारण निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा जटिलता पैदा भएको लामै समय भयो ।

सो आयोजनाको सन्दर्भमा अनेकन खालमा समस्या खडा भएको आयोजनामा छिट्टै उपकरण जडान गर्ने तयारी गरिएको छ ।

रसुवाको सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्ने उपकरण जडान शुरूवात हुन लागेको हो ।

अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड–१९ समस्याले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिए ।

उनले भने, ‘विसं २०७८ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । अब छिट्टै उपकरण जडान शुरूवात हुन्छ ।’

उपकरण जडानका लागि चिनियाँ प्राविधिक टोली आउन लागेका जनाइएको छ । हाल चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरू आउन ढिलाइ भएको आयोजनाले जनाएको छ ।

कूल १४.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाको प्रायःजसो संरचना निर्माण पूरा भएको छ ।

तिलोचे खोलामा १४ मिटर लामो बाँध, १ हजार ३८० मिटर लामो हेडरेस सुरूङ, ३४५ मिटरको पेनस्टक पाइप सुरूङ एवं पाइपलाई कंक्रिट समेतका निर्माण सम्पन्न भएको आयोजना प्रमुख महतले जानकारी दिए ।

प्रतिसेकेण्ड ११.७ सात धनमिटर पानी विद्युत् गृहमा पठाइने र तीन फ्रान्सिस नामको टर्वाइन राखिने बताइएको छ ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण शुरूवात भएको थियो । बाढी पहिरो, पेट्रोलियम पदार्थको अभाव, भूकम्प र कोरोना संक्रमणको जोखिम जस्ता विविध कारणले सो आयोजनाको निर्माण ढिलाइ भएको जनाइएको छ ।

आयोजनाको लागत भने २ अर्ब २ करोड रहेता पनि पुनरावलोकन गर्दा २० प्रतिशतले उत्पादन लागत बढ्ने आयोजना प्रमुख महतले बताए ।


क्लिकमान्डु