लक्ष्मी बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र असार २८ गतेदेखि बिक्री गर्दै



काठमाडौं । लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार २८ गतेदेखि बिक्री खुल्ला गर्ने गरी १० वर्ष अवधिको लागि ऋणपत्र जारी गर्ने भएको हो ।

‘८.५% लक्ष्मी बैंक डिबेञ्चर २०८८ नामक’ सो ऋणपत्र बैंकले १० वर्ष अवधिको लागी जारी गर्न लागेको हो । बैंकले न्यूनतम १ हजार रुपैयाँ मूल्यमा ८.५ प्रतिशत ब्याजदरमा २० लाख कित्ता ऋणपत्र जारी गर्ने उल्लेख गरेको छ ।

जारी गरिने कुल ऋणपत्रमा ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्तामा ५ प्रतिशतमा अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषलाई र बाँकी सर्वसाधारणको लागि छुट्याइएको छ । भने, १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिने बताइएको छ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । उक्त ऋणपत्रलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले मध्यम जोखिम जनाउने बीबीबी प्लस दिएको छ ।

इच्छुक आवेदकले असार २८ गतेदेखि ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले सि–आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत्, बैंकको वेवसाइट र सिभिल क्यापिटलको वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् । ऋणपत्रमा सर्वसाधारणले साउन ३ गतेसम्म आवेदन दिनसक्नेछन् ।


क्लिकमान्डु