सूचीकृत सबै कम्पनीको जोखिम मूल्यांकन गरी नामावली सार्वजनिक गर्दै धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत सम्पूर्ण कम्पनीहरुको जोखिम मूल्यांकन गरी वित्तीय अवस्था सार्वजनिक गर्ने भएको छ ।

बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भई कारोबार भइरहेका २ सयभन्दा बढी कम्पनीहरुको वित्तीय अवस्था सार्वजनिक गर्ने भएको हो ।

बोर्डले यसअघि सेयर बजारमा सूचीकृत कम्पनीमध्ये ५१ वटा कम्पनीमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएको आशंकामा सूची प्रकाशित गरेको थियो । जसमा ती कम्पनीहरुमा लगानी गर्दाको फाइदा वास्तवमा कति छ त्यसको उजागर लगानीकर्तामा गरिएको बोर्डले उल्लेख गरेको थियो ।

सोही अनुसार बोर्डले पुनः नेप्सेमामा सूचीकृत सबै कम्पनीहरुको वित्तीय विवरण सहित नामावली सार्वजनिक गर्ने तयारी गरेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

‘लगानीकर्तालाई आफूले लगानी गर्ने कम्पनीको वास्तविक अवस्था कस्तो छ भनेर थाहा होस् भनेर सूचीकृत सबै कम्पनीको वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरिएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘यसअघि प्रारम्भिक अध्ययनमा ५१ वटा कम्पनीलाई छनौट गरिएको थियो, अब बाँकी पनि अध्ययन भइरहेको छ । अध्ययन पूरा हुने बित्तिकै सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’

यसरी सूचीकृत सबै कम्पनीहरुको आवश्यक वित्तीय सूचकको विवरण सार्वजनिक गर्दा लगानीको आवस्तविक प्रतिफल हेरेर लगानी गर्न सहज हुने उनको भनाइ छ ।

‘ती कम्पनीको निश्चित समयभित्रको सेयर मूल्य, इपिएस, पीआइ रेसीयो, नेटवर्थ लगायत अन्य आवश्यक विवरण सार्वजनिक हुन्छ, त्यसको मूल्यांकलन गरी लगानीकर्तालाई सुरक्षित लगानी गर्न सहज हुन्छ’ उनले थपे, ‘तयारी अन्तिम चरणमा पुगिसकेको छ, बोर्डको सुपरिवेक्षणले फाइनल रि–चेक गरेर सार्वजनिक गर्ने भनेर काम भइरहेको छ ।’

यसअघि सार्वजनिक गरिएका ५१ वटा कम्पनीहरुको आवश्यक थप विवरण कम्पनीमार्फत् नै मगाएर थप बिस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए । बोर्डले तोकेको मापदण्ड अनुसार अध्ययनको दायरामा परेका ५१ वटा कम्पनीहरुमा लगानीको जोखिमबारे लगानीकर्तालाई सजग गराउनलाई मात्र सूची सार्वजनिक गरिएको उनको भनाइ छ ।

बोर्डले सूचीकृत सबै कम्पनीहरुको वित्तीय अवस्था सार्वजनिक गरेमा त्यसले लगानीकर्ताको लगानी सुरक्षित गर्न सहयोग गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

‘चनाखो भएर लगानी गर्न अघि कम्पनीको लगानीको प्रतिफलको मूल्यांकन गर्ने लगानीकर्ताले यस्तो तथ्यांक नेप्सेबाट सहजै जहिले पनि हेर्न सक्छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर यसरी सेबोनले नै यसतो अवस्था जोखिम मूल्यांकन गरेर लगानी गर्नु भनेर सूची सार्वजनिक गर्दा त्यसले लगानीकर्तालाई थप सहयोग गर्छ ।’

यसअघि ५१ वटा जोखिम युक्त कम्पनीको नामवली सार्वजनिकले बजारमा लगानीकर्ताको मनोबललाई प्रभाव गरेको हुँदा सबै कम्पनीको वित्तीय अवस्था सार्वजनिक हुँदा सकारात्मक प्रभाव पर्न सक्ने उनको अनुमान छ ।

‘यसअघि ५१ वटा कम्पनीहरुको बारेमा धेरै चाहिँदा नचाहिँदा हल्लाको कारणले गर्दा बजारलाई नकारात्मक प्रभाव परेको थियो तर २÷४ दिनमा लगानीकर्ताले कम्पनी मूल्यांकन गरी काराबोर गर्दा त्यसले तात्विक भिन्नता परेको छ जस्तो लाग्दैन ।’

बजारमा विभिन्न कम्पनीहरुको मूल्य घट्ने बढ्ने भइरहने हुँदा पछिल्लो सयममा बजारको घटबढलाई सेवनले सार्वजनिक गरेको कम्पनीहरुको नामवालीकै शतप्रतिशत प्रभाव भन्न नमिल्ने उनको भनाइ छ ।

‘मूल्य घट्ने बढ्ने त कम्पनीहरुको पर्फर्मेन्स र लगानीकर्ताको मूल्यांकन क्षमताले पनि प्रभाव पर्छ, सेबनले ५१ वटा कम्पनीको नामवली सार्वजनिक गरेकै कारणले भएको हो भन्ने कुनै आधार छैन,’ उनले थपे ।

सेबनले सूचीकृत सबै कम्पनीहरुको जोखिम मूल्यांकनको आधारमा वित्तीय विवरण सार्वजनिक गर्दा लगानीकर्ताले कम्पनीको पर्फर्मेन्स हेरेर लगानी गर्ने माहोल आउने उनको भनाइ छ ।


क्लिकमान्डु