राष्ट्र बैंकको नाम दुरुपयोग गरी गलत सामग्री पोस्ट गर्ने विरुद्ध उजुरी दर्ता



काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजक सञ्जालमा आफ्नो नाम दुरुपयोग गरी नक्कली खाता खोली ठगी धन्दा गर्ने गिरोहका बिरुद्धमा उजुरी दायर गर्ने भएको छ ।

फेसबुकमार्फत् केन्द्रीय बैंकको पेज बनाएर अनधिकृतरुपमा कारोबार गर्न खोज्ने उपर साइबर अपराध सम्बन्धि कानून अनुसार कारवाहीको माग गर्दै उजुरी दर्ता गर्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका नाममा यसरी अनधिकृत रुपमा सामाजिक सञ्जालमा ठगी शुरु भएपछि सोको छानबिन र कारवाहीका लागि आजै केन्द्रीय अपराध अनुसन्धान ब्यूरोमा साइबर अपराध सम्बन्धी उजुरी दिइने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

साथै, नेपाल दुरसञ्चार प्राधिकरणमा सामाजिक सञ्जालमा राष्ट्र बैंकको नाममा सञ्चालन रहेका सबै अनधिकृत अकाउन्टहरु बन्द गर्न अपिल गरिएको उनले जानकारी दिए ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकको नाममा खोलिएका फेसबुक पेजमार्फत् दिइने आह्वान भएका कुनै पनि लोभलालचमा नपर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ ।

एक दिनअघि राष्ट्र बैंकको लोगको प्रोफाइल राखी सेन्ट्रल बैंक अफ नेपाल नामक सो फेसबुक पेजमा बनाइएको छ । जसमा राष्ट्र बैंकको पुरानो भवनको फोटो राखेर केन्द्रीय बैंकले २०० व्यक्तिका लागि नगद अनुदान भनि गलत सामग्री पोस्ट गरेको थियो ।

तर राष्ट्र बैंकले भने विज्ञप्ति जारी गर्दै भनेको छ- ‘हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत् नगरिएको व्यहोरा अनुरोध गर्दै अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने ब्यहोरा अनुरोध गर्दै यसरी यस बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्न सम्पूर्ण फेसबुक प्रयोगकर्तामा जानकारी गराइन्छ ।’

यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्वसाधारणलाई राष्ट्र बैंकले अपिल गरेको छ ।


क्लिकमान्डु