फलफूल आयातबाट मात्रै करिब १९ अर्ब बाहिरियो



काठमाडौं । नेपालमा चालु आवको जेठ महिनासम्ममा साढे १८ अर्बभन्दा बढीको फलफूल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार वार्षिक रुपमा साढे १८ अर्बभन्दा बढीको फलफूल आयात भएको हो ।

नेपालमा मौसम अनुसारका फलफूल उत्पादन हुन्छन् । ती फलफूलहरु पनि विभिन्न कारणले बजारसम्म पुग्न सक्दैनन् । जसका कारण बजारमा आयातित फलफूलको हिस्सा ठूलो रहेको छ ।

जसका कारण ठूलो परिमाणमा फलफूल आयात भइरहेको हो । नेपालले चालु आको जेठ मसान्तसम्ममा १८ अर्ब ८० करोड रुपैयाँ बराबरको २६ करोड ७२ लाख ८५ हजार केजी फलफूल आयात गरेको छ । उक्त आयातित फलफूलबाट सरकारले २ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यसैगरी २०७६÷७७ मा २० अर्ब ७४ करोड ६२ लाख रुपैयाँ बराबरको २८ करोड ४ लाख ७१ हजार केजी फलफूल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । साथै, ४ अर्ब १ करोड ११ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १८ अर्ब १० करोड ६१ लाख रुपैयाँ बराबरको ३८ करोड ३३ लाख ५० हजार केजी आयात फलफूल आयात भउको छ । सो आयातित वस्तुबाट २ अर्ब १४ करोड ३४ लाख राजश्व संकलन गरेको छ ।

यी हुन मुख्य आयात हुने फलफूल
नेपालले ११ महिनाको अवधिमा १८ अर्बको फलफूल आयात हुँदा सबैभन्दा बढी स्याउ आयात भएको छ । चालु आवको ११ महिनामा नेपालले ६ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बराबरको ७ करोड ८९ लाख ५३ हजार केजी स्याउ आयात भएको छ ।
त्यस्तै दोस्रोमा सबैभन्दा बढी अङ्गुर आयात भएको देखिन्छ । जसमा ११ महिनाको अवधिमा १ अर्ब ७० करोड रुपैयाँ बराबरको २ करोड ५३ लाख ६२ हजार केजी आयात भएको छ ।

त्यसैगरी १ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड २७ लाख ६४ हजार केरा, १ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ बराबरको सुन्तला तथा तथा सुकेको सुन्तला, ९४ करोड ५५ लाख रुपैयाँ बराबरको ३१ लाख ८६ हजार केजी ओखर आयात भएको छ ।

साथै, ६९ करोड १९ लाखको १ करोड ४६ लाख ५० हजार केजी अम्बा, आँप, ५१ करोड १४ लाख रुपैयाँको ५० करोड ९५ लाख केजी अनार, ४० करोड २ लाख रुपैयाँ बराबरको १ करोड ६१ लाख ७७ हजार केजी खर्भुजा आयात भएको छ । उक्त आयातित फलफूल सबैभन्दा बढी भारत र चीनबाट आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।


क्लिकमान्डु